अब छतमा यात्रु राख्न नपाइने

पुष ७, सुर्खेत-सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखेकै कारणले दर्घटना बढेको भन्दै सुर्खेत जिल्ला प्रशसनले त्यसमा कडाई गर्दै अब चडाउन नपाइने जनाएको छ । यसअघि पटक पटक गाडीको छतमा समेत यात्रु कोचेकै कारण प्रशासनले यस्तो कदम चाल्नु परेको जनाएको छ । जिल्लाबाट बाहिरिने र जिल्लामा भित्रिने गाडीले क्षमताभन्दा बढी यात्रु राख्न, छतमा चढाउन र धेरै सामान बोक्नसमेत छोड्न थालेका छन् । नियमविपरीत चल्ने गाडीमा स्थानीय प्रशासनले कडाइ गर्न थालेपछि यातायात व्यवसायीले क्रमिकरुपमा नियम पालना गर्न लागेका हुन् । सवारीसाधन नियमविपरीत चलेको पाइएमा स्थानीय प्रशासनले कारबाही गर्न सुरु गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नियममा चल्न गरिएको आग्रहविपरीत छतमा यात्रु राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, क्षमताभन्दा बढी यात्रु कोचेर राखेको भेटिएमा यातायात व्यवसायीमाथि कारबाही गरिने चेतावनी दिएको बताए ।
जिल्लाबाट बाहिरिने र भित्रिने ठूला गाडीले मात्र नभई जिल्लाभित्र चल्ने साना गाडीमा समेत उक्त नियम लागू गरिएको छ । जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी र यातायात व्यवस्थापन कार्यालयले संयुक्तरुपमा सवारीसाधनको प्राविधिक तथा ट्राफिक नियमको अनुगमन गर्ने योजना बनाएको जिल्ला प्रशासन स्रोतले बताएको छ ।