उन्मुक्तीको प्याला : मनिषा गौचन

पर्दा झारिदिए हुन्छ
मेरो अभिनय अब सकिनै लाग्यो

तिमी अन्जान प्रेमी
मेरो मन र मष्तिस्कको शासक बनिरह्यौ
तिम्रो इशारामा
मेरो मन सधै पग्लिरह्यो
मेरो मष्तिस्क सधै अलमलिरह्यो

म ठान्छु एउटा नाटक थियो यो

साँच्ची,
एउटी प्रेमिकाको अभिनय
कति कठिन हुँदोरहेछ
यतिबेला अभिनय सकिनुको मजा लिदै
म अन्तिम अभिनय गर्दैछु
उन्मुक्तिको प्याला
घटघट पिउँदै

अहो !
झर्दै गरेको पर्दाको फाल
कति सुन्दर
मानाैँ एउटा सेताे झरना…