‘राजनीतिक हस्तक्षेपका कारण प्रशासनिक सुधार हुन सकेन’ – लालबाबु पण्डित

पुष ६, काठमाडौँ- राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्रभित्रको विकृतिका कारण नेपालको प्रशासनिक सुधार हुन नसकेको सरोकारवालाको भनाइ छ ।
मिडिया इन्टरनेसनलले आइतबार आयोजना गरेको साक्षात्कारमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रियस्तरको क्षमता राख्ने कर्मचारी भएको भएपनि अनावश्यक राजनीतिक दबाब र कर्मचारीभित्रको विकृतिका कारण प्रशासनिक क्षेत्रको सुधार हुन नसकेको बताए ।
मन्त्री पण्डितले भने, “प्रशासन भनेको स्थायी सरकार हो, सरकारले प्रशासनलाई डोहो¥याउने मात्र हो, सक्षम प्रशासनले जनताको सेवा गर्छ ।” उनले दुर्गम जिल्लामा ४० प्रतिशत सिट खाली भएको र काठमाडौँमा क्षमताभन्दा बढी कर्मचारी भएको हुँदा सहीरुपमा काम गर्न नसकिएको बताए ।
मन्त्री पण्डितले कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेप रोकिने अवस्था अझै नभएको भन्दै प्रशासनिक सुधार आयोगले दिएका एक हजार १५० सुझावलाई उपयुक्त तरिकाले प्रयोग गरिरहेको जानकारी दिए ।
पूर्वमन्त्री माधवप्रसाद पौड्लले सुशासन कुनै पनि दलको मुख्य कार्यसूची नभएकाले पनि मुलुकको प्रशासनिक क्षेत्रमा सुधार हुन नसकेको बताए ।
सुशासनका लागि कानुनको कमी नभएको भन्दै उनले कार्यान्वयनमा कमजोरी रहेको र आगामी दिनमा सङ्घीयतामा निजामती कर्मचारीको अवधारण स्पष्ट तयार गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रशासनिक सुधार आयोगका संयोजक कृष्णहरि बाँस्कोटाले कर्मचारीले सेवाग्राहीलाई असर नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।