उपत्यका बाहिरका घटनाको अनुसन्धानमा सिआइबी केन्द्रित

पुष ६, काठमाडौँ-  गम्भीर र जघन्य प्रकारका अपराधको अनुसन्धानको जिम्मेवारी पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) उपत्यकाभन्दा उपत्यका बाहिरका घटनाको अनुसन्धानमा केन्द्रित हुन परिरहेको छ । उपत्यका बाहिर हत्या, अपहरणलगायतका घटना बढ्दै जाँदा ब्युरोको टोली उपत्यका बाहिरका घटनामा बढी संलग्न हुनुपरेको होे । ती स्थानमा अभियुक्त पहिचान हुन नसकेको अवस्थामा ब्युरोको टोली घटना भएको स्थानमै पुगी अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्ने गर्दछ ।

पछिल्लो समय उपत्यका बाहिर गत मङ्सिर २९ गते सिरहा, लहानका टाटासुमो चालक गुरुदयाल महतोलाई अपहरण गरी परिवारका सदस्यसँग १ करोड फिरौती माग्ने, गत असोज ९ गते चितवन राष्ट्रिय निकुञ्जको दीपानगर चौकीका सिनियर गेम स्काउट पदमा कार्यरत कर्मचारी शेषचन्द्र चौधरी र स्थानीय त्रिलोक चौधरीलाई गोली प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न योजनाकारलाई पक्राउ गर्नेलगायतका घटनामा ब्युरोको टोलीले सफलता हासिल गरेको छ ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल जघन्य घटनामा स्थानीय प्रहरीले अपराधीको पहिचान गर्न नसकेको अवस्थामा ब्युरोका प्रहरी घटनास्थलमै गएर अनुसन्धान गर्ने गरेको बताउँछन् । घटनाको सुराक पत्ता नलाग्दा ब्युरोको टोली उपत्यका बाहिर गई लामो समय उतै बसेरसमेत अनुसन्धान गर्नुपर्ने आवश्यकता पर्दछ । कहिलेकाहीँ अनुसन्धानले पूर्णता नपाउँदा महिना दिनसम्म पनि ब्युरोको टोली सम्बन्धित जिल्लामै गएर अनुसन्धान गर्ने गरेको छ ।

चितवन निकुञ्जका कर्मचारी चौधरीको हत्या अनुसन्धानमा संलग्न ब्युरोका प्रहरी निरीक्षक भोला भट्ट तालिमका लागि बैंकक जानुपर्नेमा एक महिनाको अनुसन्धान पूरा गरी रातिमात्रै काठमाडौँ आइपुगेर दोस्रो दिन बैंकक जानुपरेको थियो । गत वर्ष संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा असोज १८ गते बारा क्षेत्र नं ४ बाट एमालेका उम्मेदवार रहनुभएका महमुद आलमलाई गोली प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न एमाले नेता एवम् पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहसहितको टोलीलाई पहिचान गर्न ब्युरोको टोलीलाई २२ दिन लागेको थियो । ब्युरोका प्रमुख मल्ल कतिपय बेलामा त उपत्यका बाहिर एकैपटक पाँच÷छ जिल्लामा ब्युरोको टोली अनुसन्धानका लागि खटाउनुपरेको बताउँछन् । यसले गर्दा ब्युरोलाई ठूलो आर्थिक भारसमेत पर्ने गरेको छ ।

एकातिर पुराना घटनाको अनुसन्धानको चाप अर्कोतर्फ नयाँ भइरहेको घटनाको अनुसन्धान गर्नुपर्दा ब्युरोको टोलीले नियमित रुपमा एउटै घटनामा केन्द्रित भएर अनुसन्धान गर्न पाइरहेको छैन । यस आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्र ब्युरोको टोलीले उपत्यका बाहिरका दर्जनौँ घटनामा अनुसन्धान गरी सयाँै अभियुक्तलाई पक्राउ गर्न सफल भएको ब्युरोले उपलब्ध गराएको तथ्यांकले देखाउँछ । विभिन्न समयमा अदालतबाट कैद र जरिवाना सजाय भई फरार रहेकामध्ये गत कात्तिक र मङ्सिर महिनामा मात्रै ३१ जनालाई पक्राउ गरी उनीहरूबाट २८ लाख ७९ हजार ३३० जरिवाना असुलका साथै उनीहरूलाई सुनाइएको फैसलाअनुरुपको सजाय दिलाउन सफल भएको ब्युरोले जनाएको छ ।

गत मंसिर २ गते रौतहटको चन्द्रनिगाहपुरमा भएका बैंक लुटपाटमा संलग्न भएकाहरूलाई १५ गते पोखरामा पक्राउ गर्न पनि ब्युरोको टोलीले पोखरा प्रहरीलाई सहयोग गरेको ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक पिताम्बर अधिकारी बताउँछन् । स्थानीय तहमा गएर सबै अनुसन्धान गर्ने कार्यमा ब्युरो संलग्न हुने गरेको र प्रहरी ‘अपरेसन’मा भने स्थानीय प्रहरीको सहयोग लिने गरेको प्रवक्ता अधिकारीले जानकारी दिए । उपत्यका बाहिरमात्रै होइन विदेशमा नेपालीमाथि घटेको घटनाको समेत अनुसन्धान गरी ब्युरोले अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको छ ।

गत जेठ महिनामा मलेसियाको कोत्राय भन्ने ठाउँबाट नेपाली र मलेसियाली नागरिकसमेत छजना व्यक्तिलाई अपहरण गरी पाँचदिनसम्म बन्धक बनाई नेपालमा पीडितका आफन्तसँग फिरौती माग्ने कार्यमा संलग्न तनहुँ बस्ने कमलबहादुर गौलीलाई ब्युरोबाट खटिएको टोली गत साउन ३ गते नेपाल आएको समयमा पक्राउ गर्न सफल भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोको पुरानो अनुसन्धान शैली र संयन्त्रलाई आधुनिकीकरण एवम् वैज्ञानिकीकरण गरिनुपर्दछ भन्ने मान्यताका आधारमा प्रहरीमा ब्युरो गठनसम्बन्धी अवधारणा आएको हो ।

ब्युरोको प्राथमिकता क्षेत्रमा जटिल र गहन प्रकृतिका अपराधका साथसाथै आम सरोकारका घटनाको अनुसन्धान गर्ने, गम्भीर प्रकृतिका अपराधमा संलग्न सङ्गठित अपराधीको पहिचान गर्ने र सजायहीनतालाई निरुत्साह पार्नेलगायत रहेको प्रमुख मल्ल बताउँछन् । उपत्यका बाहिरका धेरै घटनाको अनुसन्धानमा सफलता हासिल गरे पनि उपत्यकाभित्रकै न्यायाधीश रणबहादुर बम हत्याकाण्डलगायतका घटनाको छानबिनमा ब्युुरोले अझै सफलता पाएको छैन ।