सरकारको १२ घण्टे सेवालाई प्रभावकारी बनाउन निर्देशन

पुष ६, काठमाडौँ- राज्य ब्यवस्था समितिले बिहान ६ देखि साझ ६ बजेसम्म शुरु भएको केही सरकारी कार्यालयको कामकारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । आम जनताको सुविधाका लागि भन्दै विहानदेखि बेलुकासम्म बढी चाप हुने सरकारी कार्यालयको कामकारबाही सञ्चालन गरिएको भएपनि भौतिक सुविधा, सुरक्षा तथा यातायात व्यवस्था प्रभावकारी हुन नसकेको भन्दै समितिले सरकारको ध्यनाकषण गराएको हो ।

समितिले आजको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बोलाएर विहानदेखि बेलुकासम्म सञ्चालित सरकारी कार्यालयको कामकारबाही र त्यसमा परेका अप्ठ्यारोहरुबारे जानकारी लिएको थियो । समितिले सरकारी कार्यालयको कामकारबाहीलाई अनुगमन गरी प्रत्येक महिनाको दोस्रो सातामा विवरण बुझाउन पनि सामान्य प्रशासन मन्त्रालयमार्फत् सरकारलाई निर्देशन दिएको छ ।

सभासदहरुले सरकारी कार्यालयमा दुई सत्रको कामकारवाहीको अवधारणाँ सहि भएपनि गृहकार्य विना नै कार्यान्वयनमा आएको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले सर्वसाधारणको बढी चाप हुने सरकारी कार्यालयहरुलाई बिहानदेखि साझसम्म सञ्चालन गर्नु आवश्यक ठानेर काम थालिएको भन्दै अरु सरकारी कार्यालयहरुलाई पनि आवश्यकता अनुसार यसैगरी सञ्चालन गरिने बतायनुभयो । समितिले सरकारी कार्यालयहरुलाई नागरिक वडापत्रका व्यहोरा एक साताभित्र समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।