ओलीले आफूलाई महाराजधिराज सम्झिएको प्रचण्डको आरोप

पुष ६, काठमाडौँ-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मुलुकको महाराजधिराज सम्झिएको आरोप लगाउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसगको भेटपछि सञ्चारकर्मीसंग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले आफूलाई महाराजधिराज ठानेर अरुलाई रैती र दासको जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।

उहाले एमालेको अध्यक्ष भएपनि मुलुकको राजनीतिक परिवर्तनमा ओलीको कुनै भूमिका नभएको भन्दै जातीय पहिचान र भाषाको कुरा गर्दा देश टुक्रयाउन खोजेको आरोप लगाउने क्रम नरोके परिणाम नराम्रो हुने चेतावनी समेत दिनुभयो ।

उहाले वार्ताबाट सहमति खोज्न आफूहरु तयार रहेको तर त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाले ओलीलाई जथाभावी अभिव्यक्ति दिन रोक्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले संघीयता, राज्यको शासकीय स्वरुप लगायतका मुख्य विषयमा सहमति नभए कांग्रेस र एमालेले जतिसुकै भाषण गरेपनि माघ ८ गते संविधान नआउने ठोकुवा गर्नुभयो । उहाले दुई तिहाइबाट संविधान बनाउने पक्रिया अगाडि बढाइए आफुहरु बाध्य भएर प्रतिवादमा उत्रिने बताउनुभयो ।

यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादीको धम्कीकै कारण प्रक्रियाबाट संविधान जारी गर्ने कुरामा नडराउन काग्रेस नेतृत्वसग आग्रह गर्नुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले माओवादीसग लडाकु र हतियार नभएको बेला डराउनुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाले भने झैं जीत–जीतको अवस्थामा, लेनदेनका आधारमा र सहमतिका आधारमा संविधान जारी गर्ने कुनै सम्भावना नभएकाले प्रक्रियामा गएर माघ ८ मा संविधान जारी गर्नुको विकल्प नभएको उहाँको जिकिर थिया ।सहमतिका आधारमा संविधान जारी गर्ने भने पनि संविधान बनाउनबाट रोक्ने गरी मोर्चा गठन गर्नुले एमाओवादी संविधान जारी गर्ने पक्षमा नरहेको स्पष्ट भएको पनि उहाँले बताउनुभयो ।

संविधान जारि गर्ने समय नजिकिदै गर्दा पछिल्लो समय दलहरुबीच बढ्दै गएको तिक्ताले निर्धारित समयमा संविधान जारि हुने सम्भावना न्युन बन्दै गएको छ ।