सरकारद्वारा सत्यार्थीलाई अभिनन्दन

पुष ६, काठमाडौँ- नेपाल सरकारले नोवेल शान्ति पुरस्कार विजेता भारतीय नागरिक कैलाश सत्यार्थीलाई अभिनन्दन गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज काठमाडौंमा नोवेल पुरस्कार विजेता सत्यार्थीलाई अभिनन्दन गरेको हो ।

शान्तितर्फ नोवेल पुरस्कार जितेर दक्षिण एसिया क्षेत्रकै गौरव बढाएको भन्दै सरकारले सत्यार्थीको अभिनन्दन गरेको हो । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले सत्यार्थीलाई अभिनन्दनपत्र प्रदान गर्नुभएको छ । अभिनन्दनपछि सत्यार्थीले आफूले पाएको नोवेल शान्ति पुरस्कार बालबालिकाको क्षेत्रमा काम गर्ने सबै व्यक्ति र संस्थाको भएको बताउनुभयो । उहाँले बालबालिकामाथि कुनै किसिमका हिंसा हुन नदिन राज्य गम्भीर हुनुपर्ने र अभिभावक पनि उतिकै सचेत हुनुपर्ने बताउनु भएको छ । कार्यक्रममा केन्द्रीय बालकल्याण्ँ समितिका अध्यक्ष डिल्लीराम गिरीले बालबालिकामाथि हुने विभेद र हिंसा अन्त्यका लागि बालमजदुर राख्नेलाई जेल हाल्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
उहाँले होटलहरुमा गोष्ठी र सेमिनार गरेका भरमा तथा सडकमा जुलुस निकालेका भरमा मात्र बालबालिकामाथिको विभेद अन्त्य नहुने भन्दै हिंसामा संलग्नलाई कडा सजाय दिने कानून बनाउने बारेमा मन्त्री र सभासदको ध्यान जानुपर्ने बताउनुभयो । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण्ँ समितिको निम्तोमा गएको शुक्रबार नेपाल आएका सत्यार्थी आजै स्वदेश फकिर्नुभएको छ । स्वदेश फर्कनुअघि उहाँले राष्ट्रपति डा. रामवरण यादवसँग राष्ट्रपति भवन पुगेर भेटवार्ता गर्नुभएको थियो ।