सहमतीय प्रक्रियालाई अगाडि बढाउन मोर्चाको जोड

पुष ४, काठमाडौँ-एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाले विगतको सहमतिलाई स्मरण गराउँदै सहमतिमै संविधान निर्माणको प्रक्रिया अगाडि बढाउन सत्तारुढ दललाई आग्रह गरेको छ । मोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेले सात प्रदेशसहितको अडान नछोडे आन्दोलनमा जाने पनि चेतावनी दिएको छ ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले सरकारमा रहेका दलहरु गणितीय आधारमा नै संविधान निर्माण प्रक्रिया अगाडि बढाउन लागेको भन्दै पूर्व सहमति नभुल्न फेरी अनुरोध गरेको छ । अन्तरिम संविधान,२०६३, विस्तृत शान्ति सम्झौता, १२ बुँदे सहमति र विभिन्न समयमा भएका सहमति तथा सम्झौताको मर्म र शान्ति प्रक्रियाको पूर्णता दिन पनि सहमतिको आधारमै संविधान लेखिनुपर्ने ठहर गर्दै मोर्चाले त्यसो नभए आन्दोलन गर्नुको विकल्प नभएको पनि निर्णय गरेको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

आगामी कार्यक्रम र संविधान निर्माणका विषयमा साझा धारणा तय गर्न भोली संविधानसभामा प्रतिनिधित्व गर्ने २० दलको संयुक्त बैठक बोलाइएको समेत उहाँले जानकारी दिनुभएको छ ।
संविधान जारी गर्ने भनिएको मिति आउन अब एक महिना मात्र बाँकी रहेपनि प्रदेशको संख्या, प्रदेश निर्माणको आधार, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरु सहमति हुन नसकेको हो । कांग्रेस र नेकपा एमाले भुगोलका आधारमा सात प्रदेश बनाउनु पर्ने अडानमा छन् भने एकीकृत माओवादीसहित मोर्चामा रहेका दलहरु जातीय पहिचानसहितका १० प्रदेश बनाउनु पर्ने अडानमा छन् ।