अन्तर्राष्ट्रिय किक बक्सिङ आजदेखि

पुष ४, काठमाडौँ-प्रथम पोष्टबहादुर स्मृति कप अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आजदेखि राजधानीमा सञ्चालन हुने भएको छ । किक बक्सिङ कमब्याट क्लब नेपालको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा तीन गरी जम्मा ९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष रणबहादुर बोगटीले जानकारी दिनुभयो ।  प्रतियोगितामा नेपालसहित, भारत, श्रीलङ्का र जापान गरी चार राष्ट्रबाट करिब १५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भारतबाट पाँच, जापानबाट तीन र श्रीलङ्काबाट दुई खेलाडीको सहभागिता निश्चित भइसकेको उक्त कार्यक्रममा जानकारी दिइयो । दुईदिने उक्त प्रतियोगिताका खेलहरू नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुनेछ ।