बाह्रघन्टे सेवामा धनगडीका सेवाग्राहीको उपस्थिति न्यून

पुस ३, धनगढी- सेवाग्राहीको बढी चाप रहने सरकारी कार्यालयमा बिहान ६ बजेबाट सेवा सुचारु गरिएपनि मालपोत कार्यालय कैलालीका कर्मचारी बिहानको समयमा कामविहीन बनेका छन् । झिसमिसे उज्यालोमा कार्यालयमा पुग्ने मालपोत कार्यालयका कर्मचारी सेवाग्राही नआएपछि कामविहीन बनेका हुन् । बिहान ८ बजेपछि मात्रै दुई चार जना सेवाग्राही सेवा लिन आउने गरेको मालपोत कार्यालय धनगडीले जनाएको छ ।

सरकारी सेवा सहजरुपमा छिटो छरितो ढङ्गबाट उपलब्ध गराउन बिहान कार्यालय सुचारु गर्ने नीति उचित भएपनि अपेक्षाकृतरुपमा सेवाग्राही नआउँदा भने पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा कर्मचारीहरूले हैरानी खेप्नुपरेको कतिपय कर्मचारीको गुनासो छ । नापी कार्यालय कैलालीबाट बिहानको समयमा पुस १ गते एक जनाले सेवा लिएकामा २ गते बिहान ७ देखि १०ः० बजेसम्मकोे समयमा आठ जनाले सेवा लिएका छन् ।

त्यस्तै आज बिहान ८ बजेसम्म चारजना सेवा लिन आइपुगेको बताइएको छ । पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा कामको बढी चाप रहने कार्यालय बिहान ६ बजेबाट सञ्चालन गरिएकाले पनि सेवाग्राहीको कार्यालयमा उपस्थिति न्यून रहेको कतिपयको भनाइ छ ।