पानीबाट सर्ने नयाँ रोग फेला

पुष २, काठमाडौँ-नेपालमा पहिलो पटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ । उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौँमा पानीबाट सर्ने लिगिनार्यस डिजिज नामक उक्त रोग दुई जनामा भेटिएको छ । उक्त रोग नेपालमा नभई विदेशमार्फत नेपाल आएका व्यक्तिबाट सरेको हुनसक्ने महाशाखाको अनुमान रहेको छ ।

रोगका बारेमा थाहा पाउनका लागि पानी परीक्षण गर्नुपर्ने र परीक्षणका लागि पानी विदेश पठाउनुपर्ने भएकाले त्यसको रिपोर्ट आउन करिब एक महिला लाग्ने महाशाखाका निर्देशक चिकित्सक बाबुराम मरासिनीले जानकारी दिनुभयो । पहिलो पटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौँका विभिन्न अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफल गर्ने तयारी गरेको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु उक्त रोगका लक्षण हुन् । यो रोगका किटानु पानीको थोपाबाट श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने चिकित्सकले बताएका छन् । समयमा रोगको उपचार नगरे कडा निमोनिया हुने निर्देशक मरासिनीले बताउनुभयो । यो रोगबाट बच्न पानी उमालेर मात्र पिउने र अरु प्रयोजनका लागि पनि पानी उमाल्नु पर्ने चिकित्सकको सुझाव छ । एयर कन्डिसनर, पानीका फोका, नुहाउन प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ लिन प्रयोग हुने मेसिन आदिबाट रोगका किटाणु सर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।