सहमति नभए प्रक्रियाबाटै संविधान जारी हुन्छ–अध्यक्ष ओली

पुष २, काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए नियमअनुसार प्रक्रियाबाटै माघ ८ भित्र संविधान जारी गर्ने बताउनुभएको छ । एमाले पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटीको बैठक समापनका अवसरमा बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँलृे आज त्यस्तो बताउनु भएको हो । उहाँले निर्धारित मितिमै लोकतान्त्रिक संविधान सहमतिमै जारी गर्न अन्तिमसम्म प्रयास गर्ने त्यो पनि नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने उल्लेख गर्नु भएको छ ।

अध्यक्ष ओलीले तोकिएको मितिमै संविधान जारी गर्न सहमतिको प्रयास गरिन्छ, त्यो सम्भव नभए आवश्यक सङ्ख्याले संविधान जारी गर्ने व्यवस्था छ, त्यही अनुरुप र्सविधान जारी हुन्छ भन्नु भएको छ । कसैले पनि अनुचित अडान, मनसाय र दृष्टिकोण राख्न नहुनेमा जोड दिँदै उहाँले देशलाई हिंसा र अनिर्णयको बन्दी बनाउन नहुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान निर्धारित मितिमै संविधान जारी गर्ने भएकाले यसबीचमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने विषयमा पार्टीको ध्यान नगएको बताउनुभयो । उहाँले देशले स्थायी शान्ति र स्थायीत्व खोजिरहेको उल्लेख गर्दै सहमति र सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको धराणा राख्नु भएको छ । वरिष्ठ नेता झलनाथ खनालले संविधान बन्न नदिनका लागि उग्रवामपन्थी र दक्षिणपन्थी तत्वहरु क्रियाशील भइरहेको आरोप लगाउँदै कुनै पनि हातलमा माघ ८ मा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।नेता माधवकुमार नेपालले मन, वचन र कर्मले पार्टीलाई एकतावद्ध गरेर लैजान सकेमा राष्ट्रिय राजनीतिमा समेत पार्टीको बलियो उपस्थिति हुने बताउनुभयो ।

गत मङ्सिर २२ गतेदेखि सुरु भएका केन्द्रीय कमिटीको बैठकले २१ सदस्यीय स्थायी कमिटी र ६१ सदस्यीय पोलिटब्युरोको गठन सर्वसम्मत गरेको थियो ।