छोराबाट बच्न प्रशासनमा उजुरी

पुस २,रामेछाप– एक वृद्द दम्पत्तिले आफ्नो छोराका कारण आफूहरुको ज्यान जान सक्ने भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रामेछाप जिल्ला नागदह–१ भालुखोपका ७९ वर्षीय खड्गबहादुर राउत र उनकी श्रीमती सन्तमायाले कान्छो छोरा दुर्गाबहादुर विरुद्द मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

वृद्द दम्पतीले निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलसमक्ष लिखित उजुरी दिएका हुन् । उनीहरुले छोराले दिनहुँ गालीगलौज गर्दै घरका सबै जायजेथा आफ्नो नाममा दिनुपर्ने र नदिए ज्यान मार्ने धम्की दिने गरेको बताए । त्यसकारण आफूहरु प्रशासनको शरण पर्न आएको उनीहरुले उजुरी गरेका हुन् । निमित्त प्रजिअको कार्यकक्षमा वृद्द दम्पतीले छोरा र आफ्नो सम्पत्तीको कारण आफूहरु असुरक्षित हुनुपरेको भन्दै डाँको छाड्दै रोएपछि त्यहाँ उपस्थित सबै जना भाबुक बनेका थिए ।