रातो मच्छिन्द्रनाथ जात्राका लागी रथको पाङ्ग्रा बनाइै ललितपुर

पुष २, काठमाडौँ- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारी सुरु भएको छ । जस अन्र्तगत रथको पाङ्ग्रा बनाउने काम सुरु भएको गुठी संस्थान ललितपुरले जनाएको छ । गुठीका अनुसार विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले काम चलाइन्थ्यो भने यस पटक १२ वर्षमा विशेष कार्यक्रम गरिने भएकाले निर्माणका लागि सबै नयाँ सामान जुटाउनुपर्ने भएकाले अहिलेदेखि तयारी गरिएको हो।जात्राको तयारीस्वरुप पहिलो चरणको काम सुरु भएको छ।

तयारीकै लागि रथको पाङ्ग्रा बनाउनका लागि मकवानपुर मनहरिमा नेवार समुदायका बाराही र बौसी जातका मानिसले काम गर्ने संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले जनाए। रथको पाङ्ग्रा बनाउन १५ देखि २० दिनको समय लाग्नेछ। उनका अनुसार चार पाङ्ग्रा सानदान रुखबाट बनाइन्छ। रथको पाङ्ग्रा बनाउन प्रत्येक रुख काट्न एक रुख बराबर एक भाले भेडाबाख्रा भोगसमेत दिइएको छ। अधिकारीका अनुसार बुधबार पाङ्ग्रामाथि राखिने अन्य सामग्री निर्माणका लागि गोदावरीको फुल्चोकी डाँडामा जाने तयारी छ।

बाह्र वर्षमा लाग्ने मेला भएकाले यस वर्षका लागि रथ सबै नयाँ सामग्रीबाट निर्माण गरिनुपर्ने र ललितपुरको बुङ्‌मतीमा नै रथ निर्माण गरिने छ। सोही स्थानबाट नै रथ तान्ने प्रचलन रहिआएको प्रमुख अधिकारीले बताए। अन्य समयमा पुल्चोकमा रथ निर्माण गरिने र त्यहीँबाट नै रथ तानिने चलन थियो। आगामी वर्षका लागि वैशाखको पहिलो सातादेखि जात्रा सुरु हुनेछ। यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रा गत वैशाख १७ गते रथारोहण गरी सुरु भएको थियो।