सुदूर पश्चिमका सबै पहाडी जिल्लामा भारी हिमपात

पुस १,डडेल्धुरा- डडेल्धुरा सदरमुकाम खलंगालगायत सुदूर पश्चिमका सबै पहाडी जिल्लामा भारी हिमपात भएको छ । गए रातिको हिमपातका कारण्ँ डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी, अछाम, डोटीलगायतका जिल्लामा जनजीवन कष्टकर बनेको छ ।

हिमपातका कारण बझाङ जोड्ने डडेल्धुरा—चैनपुर सडकखण्डको श्रीभावर क्षेत्रमा सडक अबरुद्ध भएको छ । यता डडेल्धुरा जिल्ला जोड्ने धनगढी—डडेल्धुरा सडक खण्डको गैरा र हगुल्टे लेकमा भारी हिमपात हुंदा सडक अबरुद्ध भएको छ ।

सडकमा जमेको हिउंको कारण सयौं यात्रु र सवारी साधन बीच बाटोमै रोकिएका छन् । बझाङको सदरमुकाम चैनपुर र आसपासका गाविसमा समेत हिमपात भएको छ । सुदूर पश्चिमका पर्यटकीय क्षेत्र खप्तड र बडिमालिकामा पनि भारी हिमपात भएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङमा पनि हिमपात भएको छ । यो सिजनको पहिलो पटक जिल्लाका १६ ओटै गाविसमा परेको हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको हो । हिमपातसंगै जाडो बढेपछि आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातका कारण्ँ जोमसोम–मुक्तिनाथ सडक खण्ड समेत अवरुद्ध भएको छ ।

उता, म्याग्दीको हिमाली क्षेत्र गुर्जा, मुदीलगायतका क्षेत्रमा हिमपातसंगै बर्षा भएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पनि हिमपात भएको छ । हिउँको कारण सिमिकोट बजार सेताम्य वनेको छ ।