मुद्दाको म्याद, तारिक लिने अब सूचना अनलाइनमार्फत

पुस १,काठमाडौं- सर्वोच्च अदालतले अनलाइन सेवाबाट मुद्दाको म्याद तामेल गर्ने, तारिक लिने र एसएमएसबाट मुद्दाको गतिविधि उपलब्ध आजबाट गराउँने भएको छ ।

न्यायिक कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि मुद्दा व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग गरेर सेवाग्राहीलाई पुनरावेदन अदालत विराटनगरसहित ४० वटा जिल्ला अदालतमा अनलाइन सेवा प्रारम्भ गर्न लागको होे । सर्वोच्च अदालतले अन्य अदालतमा पनि यो सेवा विस्तार गर्दै लैजाने भएको छ । उक्त अदालतमा पुनरावेदन, रिट तथा निवेदन दर्ता गराएका सेवाग्राहीले अब सम्बन्धित क्षेत्रका पुनरावेदन तथा जिल्ला अदालतबाटै सफ्टवेयरमार्फत तारिक लिनसक्ने भएका हुन् । सो सेवाका लागि भने कुनै पनि शुल्क तिर्न नपर्ने भएकोे छ ।

म्याद तामेलीका सूचना अनलाइनमार्फत सम्बन्धित जिल्ला अदालतमा पठाइने व्यवस्था मिलाइएको छ । यस्ता सूचना सम्बन्धित जिल्ला अदालतले ‘डाउनलोड’ तथा ‘प्रिन्ट’ गरी तामेलदारमार्फत सम्बन्धित व्यक्तिलाई पठाउने र तामेलीप्रति सम्बन्धित अदालतले सफ्टवेयरमार्फत अपलोड गरेर सर्वोच्च अदालत पठाएपछि सो अदालतले प्रयोगमा ल्याउन सक्ने भएको छ । यसैगरी सर्वोच्चमा दर्ता भएका मुद्दा, रिट र निवेदनपत्रको दर्ता भएको मिति, पेसी सरेको मिति, सम्बन्धित इजलासबाट भएको आदेश तथा फैसलाका जानकारी एसएमएसबाट पठाउने र सम्बन्धित पक्षले पनि एसएमएसबाट जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।