संविधानसभाको बैठकमा संवाद समितिको प्रतिवेदनमाथि छलफल हुने

मंसिर २९, काठमाडौ-संविधानसभाको बैठकमा आजदेखि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल शुरु हुने भएको छ । संवैधानिक राजनीतिक तथा संवाद समितिले विभिन्न राजनीतिक दल र सदस्यहरुबाट प्राप्त अवधारणालाई समेटेर समिति सभापति डा बाबुराम भट्टराईले गत बुधबार संविधानसभामा पेश गरेको प्रतिवेदनमा आजबाट छलफल हुन लागेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार आजदेखिको छलफलमा सभासद्हरुले प्रतिवेदनमै केन्द्रीत भएर छलफल गर्ने छन् ।

विवादित विषय सहमतिका लागि संवाद समितिमै पठाउने कि अर्को संयन्त्र बनाउने भन्नेमा प्रमुख दलहरुबीच सहमति हुनुपर्ने भए पनि अहिलेसम्म सहमति भइसकेको छैन । यस विषयमा दलहरुले आज पनि छलफल गर्ने बताइए पनि समय भने तय भइसकेको छैन । छलफलको लागि संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वागंले दलगत आधारमा समय निर्धारण गर्ने बताइएको छ । तर  कति जनालाई बोल्न दिने, कति समय दिने भन्ने बारेमा छलफल गर्न संविधानसभाको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।