कृषि कार्यालयले थाल्यो माटो परिक्षण अभियान

मंसिर २९, प्यूठान-जिल्ला कृषि विकास कार्यालय प्यूठानले ब्यावसायीक र उन्नत जातका कृषि उपजहरु उत्पादन गर्नका लागि माटोको परिक्षण थालेको जनाएको छ । जिल्लाका ४ सय ४१ स्थानको माटो परिक्षण सुरु गरेको छ । माटो विकास निर्देशनालय काठमाण्डौँ र क्षेत्रिय माटो नमुना परिक्षण केन्द्र बाँके खजुराको  सहयोगमा जिल्लामा पहिलो पटक माटो परिक्षण सुरु गरिएको वरिष्ट कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताए ।

जिल्लामा माटोको नमुना संकलन गरि केन्द्र र क्षेत्रमा परिक्षणका लागि पठाईने कार्यालयले जनाएको छ । जिल्लाका ४२ गाविस र एक नगरपालिकाको सबै वडामा नमुना स्वरुप एक स्थानको माटो परिक्षण गरिने कार्यालयका कृषि प्रसार अधिकृत रामचन्द्र पोख्रेलले जानकारी दिए । जिपीएन प्रविधिको प्रयोग गरि जिल्लाका सबै स्थानको माटो नमुना परिक्षण सुरु भएको भन्दै उहाँले कृषि बिकास कार्यालयका सेवा केन्द्रमाफत माटोको परिक्षण गरिने बताउनु भयो । प्यूठानमा अहिले ६  स्थानमा कृषि सेवा केन्द्रहरु स्थापना रहेका छन् ।