सहमति भनेको लेनदेन हो, सहमति हुनेमा विश्वस्त छु ः प्रधानमन्त्री कोइराला

मंसिर २७, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले संविधानका मुख्य विवादित विषयमा सहमतिका लागि राजनीतिक दलबीच निरन्तर वार्ता भइरहेकोले सहमति हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले कुनै पक्षलाई भड्काएर समस्याको समाधान नहुने बताउँदै जिम्मेवार नेताहरुलाई पनि भड्काउने काम नगर्न आग्रह गर्नुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको साताँै वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सो धारणा व्यक्त गर्नुभएको हो ।उहाँले “मैले एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कुनै पक्षलाई भड्काएर समस्याको समाधान हुँदैन भनेको छु, सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता मुख्य विवादित विषयमा गम्भीरताका साथ दलहरुबीच वार्ता भएकाले सहमति हुनेमा म विश्वस्त छु”, भन्नुभयो ।

“सबै आफूले भनेको कुरा हुन्छ भन्ने छैन, सहमति भनेको लेनदेन हो, सङ्क्रमणकाललाई लम्ब्याएर स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि लेनदेनका आधारमा सहमतिमा पुग्नै पर्छ, मुलुकको विकासको ढोका खोल्नुपर्छ”, प्रधानमन्त्री कोइरालाले भन्नुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अघिल्लोपटक एमाओवादीलगायतका दलसँग बहुमत हुँदा आफूहरुले विवादित विषयमा लचक भएर उहाँहरुले भनेको मान्दा पनि किन संविधान बन्न सकेन भन्दै अहिले हामीसँग बहुमत छ उहाँहरुले सहमतिका लागि मान्नुपर्छ र संविधान निर्धारित समयमै दिनुपर्छ भन्नुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला, डा शशांक कोइरालाले ,पुष्पा लगायतले आफ्नो विचार राख्नु भएको थियो ।