एएस रोमालाई पराजित गर्दै म्यानचेस्टर नकआउट चरणमा प्रवेश

काठमाडौँ-म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराती भएको खेलमा इटालियन क्लब एएस रोमालाई २–० ले हराउँदै म्यानचेस्टर सिटी अन्तिम १६ मा पुगेको बिबिसीले जनाएको छ । गएरातिको खेलमा सिटीलाई विजयी गराउन समिर नास्री र पाब्लो जाबालेटाले एक–एक गोल गरे । समूह चरणमा सुरुआती ४ खेलबाट २ अंक मात्रै जोडेको म्यानचेस्टर सिटी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै ८ अंकको साथ समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । यो समूहबाट जर्मन क्लब बायर्न म्युनिख १५ अंकको साथ शीर्ष स्थानमा रह्यो ।