नेम्वाङको सम्मानमा सर्यो् पुर्नजन्म

काठमाण्डौ-फागुन १५ मा रिलिज मिति तय गरेको चलचित्र ‘पुनर्जन्म’ले एक हप्ता पर रिलिज सारेको छ । फागुन १५ मा स्वर्गीय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको अन्तिम फिल्म ‘अझै पनि’ प्रदर्शन हुने भएपछि आफ्नो प्रदर्शन मिति सार्दै एकहप्ता पर लागिएको निर्माता मोहन कृष्ण श्रेष्ठले बताए ।

‘हामीले यस क्षेत्रमा लागेर पाउने भनेकै सम्मान हो र त्यसका लागि कन्जुस्याइँ गर्न हुन्न । हामी आलोकजीलाई सम्मान गर्दै आफ्नो फिल्मको उहाँको फिल्मसँग नजुधाउने निर्णयका साथ फागुन २२ मा पुगेका हौँ’ निर्माता श्रेष्ठले बताए । साथै निर्माता श्रेष्ठले अन्य निर्मातालाइ पनि सो मितिमा फिल्म नजुधाउन आग्रह गरे ।

सत्य घटनामा आधारित भनिएको फिल्म ‘पुर्नजन्म’ले मनोरञ्जनसँगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना सँस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहन कृष्ण श्रेष्ठसंगै भद्र बहादुर शाहीको पनि लगानी रहेको छ । एम.के. इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित यस फिल्मलाइ निर्देशनसंगै सम्पादन पनि स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका छन् ।

आर्यन सिग्देल , केकी अधिकारी , गजित बिष्ट , सुस्मिता शाही , मिथिला शर्मा , विजय लामा , लाल्क्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको यस फिल्मलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् । शिव ढकाल र नवरा कृष्ण थापाले संयुक्त रुपमा खिचेको यस फिल्ममा द्वन्द अष्ट महर्जनको रहेको छ ।