सभासद खड्काको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि, शोकमा बाग्लुङ बजार बन्द

मंसिर २३, बाग्लुङ-५ दिन अघि जिप दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएका  सभासद् हरिबहादुर खड्काको मंगलबार अन्तेष्टी गरिएको छ । खड्काको राष्ट्रिय सम्मानका साथ  बाग्लुङ र पर्वतको सिमानामा पर्ने कालीगण्डकीको मालढुङ्गा घाटमा अन्त्येष्टी गरिएको हो । आइतबार राती उपचारका क्रममा न्यूरो अस्पतालमा ज्यान गुमाएका खड्काको सोमबार नेपाली कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । मंगलबार खड्काको शव आफ्नै घर बाग्लुङ बजारमा ल्याएर दिउँसो  १ बजे अन्तिम संस्कार गरिएको सभासद प्रकाश पौडेलले जानकारी दिए ।

स्वर्गिय खड्कालाई नेपाल प्रहरीले १९ तोपको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको हो । स्वर्गिय खड्कालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि हजारौंको संख्यामा उहाँका शुभचिन्तकहरु कालीगण्डकी किनारमा सहभागि भएका थिए । खड्काको पार्थिव शरिरमाछोराहरु सुदिप र सुनिसले दागबत्ती दिएका थिए ।

२०२० साल जेठ १८ गते बाग्लुङ बजारमा जन्मिएका खड्का २०४० सालदेखि विद्यार्थी राजनीति हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बाग्लुङ क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।  स्वर्गिय खड्काका श्रीमती, दुई छोरा र एक बुहारी छन् । यसैबीच खड्काको निधनको शोकमा मंगलबार बाग्लुङ बजार बन्द गरिएको छ ।