सुकुम्बासी समस्या समाधान गर्न सरोकारवालाको माग

मंसिर २३,राजविराज-सुकुम्बासीको नाममा हुकुम्बासीले फाइदा उठाउन नहुने र सुकुम्बासीको समस्या वैज्ञानिक एवम् समानताका आधारमा समाधान गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला भूमि अधिकार मञ्च सप्तरीद्वारा सोमबार यहाँ आयोजित ‘भूमिहीनस सुकुम्बासीको समस्या र हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा वास्तविक सुकुम्बासीको पहिचान पनि गर्नुपर्ने वक्ताहरूले बताएका छन् ।

 सुकुम्बासी समस्या समाधान आयोग सप्तरीका सदस्य शिवकुमार पासवानले सरकारले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न आयोग गठन गर्दै आए पनि आयोगलाई पूर्ण अधिकार नदिँदा सुकुम्बासीको  समस्या जस्ताको त्यस्तै रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा एमालेका गोविन्द न्यौपानेले सुकुम्बासी समस्या समाधानका लागि वैज्ञानिक भूमिसुधारको नीतिलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले सुकुम्बासीको समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिएका थिए ।