दलित अधिकारकर्मीको ३ दिने राष्ट्रिय सम्मेलन राजधानीमा सुरु

मङ्सिर २२, काठमाडौँ- दलित अधिकारकर्मीको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।  अन्तर्राष्ट्रिय मावनअधिकार दिवसको सन्र्दभमा दलित सेवा सङ्घले आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा तथा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धि र दलित समुदायमा त्यसको प्रभाव’ विषयक तीन दिने सम्मेलन आजबाट सुरु भएको हो ।

यसै अवसरमा  दलित समुदायको अधिकारको निम्ति अग्रसर विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा नेपालका दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक  अवस्थाको बारेमा कार्यपत्रमाथि छलफल गरिने गराइयो ।

  सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आदिवासी जनजाति, दलित, महिला तथा उत्पीडनमा पारिएको समुदायले पाउनुपर्ने सम्पूर्ण अधिकारलाई संवैधानिक व्यवस्था गरिनुपर्ने बताए । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् जीवन परियारले सिङ्गो मुलुकलाई विकासको गतिमा अगाडि बढाउनको निम्ति पहिला दलित समुदायको आर्थिक, सामाजिक र राजनीतकि अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।