कङ्गोमा नयाँ आमहत्यामा चौधको मृत्यु

काठमाडौ-प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भागमा बेनी क्षेत्रमा युगान्डाका विद्रोही आशङ्का गरिएका व्यक्तिले गत राती गरेको आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरुले आइतबार दिएका छन् ।        लडाकूका प्रवक्ता तथा स्थानीय एक अधिकारीले उत्तरी किभु प्रान्तको ओइचा गाउँमा आक्रमण भएको पुष्टि गरे ।      बेनी तथा नजिकका क्षेत्रमा शृङ्खलावद्ध रुपमा भएको आमहत्यामा २०० व्यक्तिको मृत्यु भएकोमा अलाइड डेमोक्र्याटिक फोर्सेस तथा नेसनल आर्मी फर द लिबरेसन युगान्डा संलग्न भएको आरोप लगाइएको छ ।      उत्तरी किभुको केन्द्र गोमामा नगर प्रमुख जिन बाप्टिस्ट कामाबुले टेलिफोनमा आक्रमणकारीले धारिलो हतियार प्रयोग गरेको बताए ।  उनले दुई व्यक्ति घाइते भएको तथा अन्य दुईलाई अपहरण गरिएको जानकारी दिए ।      सशस्त्र समूहविरुद्ध सैनिक कारवाहीका प्रवक्ता सेलेस्टिन एनगेलेकाले १४ व्यक्तिको मृत्यु भएको पुष्टि गरे तथा मृतकको सङ्ख्या बढ्न सक्ने बताए ।