नेम्बाङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

काठमाण्डौ -लोकप्रिय निर्देशक स्व। आलोक नेम्बाङले गत कार्तिक २० गते आत्महत्या गर्नुअघि निर्देशन गरेको एउटा नयाँ गीतको म्युजिक भिडियो
सार्वजनिक भएको छ । गायिका सरु पराजुलीको नयाँ एल्बम ‘नमन’ को ‘आए धेरै जोवनमा भने जस्तो तिमी, रोजेकी छु यो मनले सबै बुझ्ने तिमी‘’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

आत्महत्या गर्नुभन्दा करिव एक महिनाअघि ललितपुरका विभिन्न आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा युवराज चौलागाईं, नायिका नन्दिता केसी तथा मोडल करीना भट्टराईले अभिनय गरेका छन् । भिडियोमा युवराज र नन्दिताले श्रीमान्–श्रीमतीको तथा करीनाले छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

गायिका पराजुलीका श्रीमान् गीतकार शिव चौलागाईंको शब्द तथा अम्बर सुब्बाको संगीतको यो गीतको भिडियोमा निर्देशक नेम्बाङले नन्दिता र करीनाको नृत्यको कोरियोग्राफी समेत गरेका थिए । हरि हुमागाईंले छायांकन गरेको उक्त भिडियोको सम्पादन प्रकाश तुलाधरले गरेका हुन् ।

यसअघि सुरभी तथा नमन गरी दुई वटा एकल एल्बम तथा थुप्रै कलेक्सनमा स्वर दिइसकेकी गायिका सरु पराजुलीले निर्देशक नेम्बाङसंग पहिलो पटक काम गरेकी थिइन् ।