पत्रकार थापाका हत्याका अभियुक्तलाई दुई वर्ष कैद सजाय

मंसिर २१, दैलेख द्धन्द्धकालमा बिद्रोही नेकपा माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा जिल्ला अदालतले फैसला गर्दै प्रतिवादीहरूलाई अधिकतम दुई वर्षसम्मको कैद सजाय सुनाएको छ । जिल्ला अदालत दैलेखले आइतवार गरेको उक्त फैसलामा अभियुक्तहरु निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई —दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको अदालतका तहसिलदार सुनिल खाँडले जानकारी दिए ।

मुद्दाका जम्मा ९ प्रतिवादीमध्ये थिउरी पुराकोट—१ बमबहादुर खड्का र केशव खड्का, कट्टी—७ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर— ३ का भक्तिराम लामिछाने फरार छन् । उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ । पुर्पक्षका क्रममा थुनामा रहेका वीरबहादुर केसी र लक्षिराम घर्तीमगरले उनीहरूलाई तोकिएको कैद भुक्तान गरिसकेकाले फैसलासँगै उनीहरू थुनामुक्त हुनेछन् । दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती पनि एक वर्ष सात महिना एक दिन कैदमा बसिसकेका छन् । अब उनी चार महिना २९ दिन कैदमा बसे पुग्नेछ ।