पैसा नहुँदा नाबालक छोरी गुमाउने चिन्ता

 मंसिर २१, काठमाडौं- छोरीको अनुहारमा मिठो मुस्कान, हातमा किताब र उन्नति देख्न चाहन्थें, सिन्धुली, झागाझोली रातमाटाका बाबु हनुमान र आमा मसिना थापाले । नौ वर्षे छोरी सुमित्रा कक्षा २ मा पढथन्, हातमा किताब बोक्दै दौडेर स्कुल पुग्थिन् । पुर्खौली अंशको रूपमा गाँउमा भएका थोरै भीरपाखामै पनि खुसी साथ चलिरहेको थियो, हनुमानको परिवार ।

यस वर्षको वषर्ायाम असार यो परिवारमा ठूलो बाढी आयो । त्यसले यो परिवारलाई सडकमा ल्याएर छाडिदियो । हनुमानको परिवारसँग अहिले न त त्यो खुसी बाकि छ, न पुर्खौली सम्पती नै ।

‘खाना नखाने, खाए पनि स्वाद केही आएन भन्ने र पेट दुखिरहन्छ भनिरहिन्,’ असारमा आफ्नो छोरीले पहिलो पटक सुनाएको घटनालाई बाबु हनुमानले शनिबार अनामनगरस्थित मण्डललाई नाट्यघरमा  भने । लगतै छोरी सुमित्राको उपचार गर्न हनुमानको परिवार साउनमा उपत्यका आइपुग्यो । अल्फा अस्पताल, त्यसपछि सिभिल अस्पताल हुदै सुमित्राको उपचारको क्रम कान्तिबाल अस्पतालमा पुगेको छ । सुमित्रालाई महंगो रोग ‘ब्लड क्यान्सर’ भएको छ । उनको उपचारमा १० देखि १२ लाख रूपैंया लाग्ने डाक्टरहरूले बताएका छन् । ‘त्यति ठूलो रकम त हामीसँग छैन,’ हनुमान भन्छन्,’१०/१२ हजार भए पो ल्याउन सकिन्थ्यो ।’

उपचार खर्च नभएपछि अहिले बाबु हनुमान छोरी गुमाउने चिन्ताले निराश छन् । आमा मसिनाको मुख बन्द छ, छोरीलाई काखमा चेपिरहेकी छन् र आँखाबाट आसुका धारा बगिरहेका छन् । सुमित्राको भने आमा-बाबुलाई एउटै प्रश्न छ,’म कहिले ठिक हुन्छु र अहिलेबाट स्कुल जान पाउछु ?’ चार वर्षे भाई सुमितलाई परिवारमा गुजि्रएको घटनाको अनविज्ञ जस्तै छन् ।

हनुमानले सुभित्राको उपचारमा भएका पैसा खर्च नगरेका होइनन् । उपत्यका छिरे लगतै छोरीको उपचारसँगै हनुमानले ज्यामी काम गर्न थाले । ‘एक दिनको चार सय रूपैंया हुन्थ्यो, पाटनमा कोठा लिएको थिए । भाडा पनि तिर्नु पर्ने,’ हनुमानले पिडा सुनाए,’छोरीको उपचारसँगै काम पनि गरिरहेको थिएँ ।’

हनुमानले छोरीको उपचारमा आफ्नो पुर्खौली सम्पती पनि सक्काए । ‘भीर पाखा न हो, एक लाख रूपैंया आएको थियो, सकियो,’ उनले उपचारमा परेको आर्थिक संकटा बारे प्रस्त पारे, ‘अहिलेसम्म ४ लाख सकियो । ऋण पनि गरे, आफन्तसँग पनि मागे । अब त सम्पत्ति छैन, ऋण पत्याउने पनि कोही भएनन् ।’

पैसाको खोलो बग्यो, हनुमानसँग एक पैसा पनि रहेन । ‘अब छोरीको उपचार गर्न सकिन्न भनेर फेरि गाँउमै फर्कियौं,’ छोरीको उपचारलाई माया मारेर फर्केको घटना हुनमानले सुनाए । सिभिल अस्पतालमा उपचार गर्दा उनको स्थिती देखेर त्यहाँका डाक्टरले सहयोगका लागि सञ्चार माध्यममा अपिल गर्न सुझाव लिएर सहयोग गरेका थिए ।

भदौंमा सम्पूर्ण पैसा सकेर छोरीको उपचारलाई माया मारेको हनुमानलाई महिनाको अन्त्यमा काठमाडौंबाट फोन आयो । दीपक सिलवालले उनलाई फोन गरेका थिए । दुई वर्षदेखि ‘घर आगन नेपाल’ संस्था चलाउदै असायहरूलाई सहयोग गर्ने उद्देश्य लिएका दीपकले कान्तिपुर दैनिकमा ‘सहयोगका लागि अपिल’ भनेर छापिएको समाचारमा सुमित्राको अवस्था र उनको बाबुको सम्पर्क नम्बर भेट्टाए ।

‘उनले फोन गरेर छिटो उपचार गर्न आउनु भन्नु भयो र दसैंपछि फेरि हामी काठमाडौं आयौं,’ हनुमानले दीपकले भगवानको रूपमा आफ्नो जीवनमा आएको भन्दै भने । दीपकले सुमित्रालाई बचाउनका लागि सहयोगको अभियाननै चालेका छन् । उनले २५ हजार रूपैंया शनिबार दिए, ओम हेल्थ फाउन्डेसनका अध्यक्ष डा. भोला रिजालले २५ हजार सहयोग गरे भने अब एक लाख आफ्ना मित्रहरूसँग उठाएर दिने घोषणा गरे । सुमित्राको उपचारमा सहयोग गर्न आम जनतालाई पनि हनुमान, दीपक र भोलाले आग्रह गरे । त्यसका लागि एनआईसी एसिया बैंक थापाथलीको शाखामा रहेको ५४४१३३१०२६५२४००१ सहयोग गर्न सकिन्छ । बाबु हनुमानको फोन नम्बर ९८१८०१८०९२ वा दीपकको फोन नम्बर ९८५१०३६४१९ मा सम्पर्क गर्न सकिन्छ ।

छिटोभन्दा छिटो भनेजति पैसा संकलन नभए छोरीलाई गुमाउनु पर्ने चिन्तामा छन्, हनुमानको दम्पती । हनुमान भन्छन्,’भएको सम्पत्ति सकियो, अब छोरीको उपचारमा सहयोग मिले । उनलाई ठिक भए, ज्यामी काम गरेर पनि घर चलाउने र फेरि छोरीलाई स्कुल पठाउथें ।’ कान्तिपुर दैनिकमा खबर छ ।