पाथीभरा र स्वर्गद्वारीमा केबलकार बन्ने

मंसिर १६, काठमाडौ-सरकारले ताप्लेजुङ्को पाथीभरा र प्युठानको स्वर्गद्वारीमा केवबलकार निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास आयोजनाले आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन सकेको छ । एकैसाथ बनाउने तयारीमा रहेका यी आयोजनाका लागि मन्त्रालयलेे केही दिनभित्रै निजी क्षेत्रसँग प्रस्ताव माग्नेछ, कारोबार दैनिकमा खबर छ । केबलकार निर्माणपछि स्वर्गद्वारीमा वाषिर्क १५ लाख र पाथीभरामा १० लाख पर्यटक (आन्तरिक र बाहृय) लैजान सकिने अध्ययनले देखाएको छ । दुवै आयोजनाका लागि दुई अर्ब रुपैंयाँ लाग्ने अनुमान छ । मन्त्रालयले सार्वजनिक-निजी साझेदारी (पीपीपीं) मोडलमा निर्माण गर्ने गरी विस्तृत अध्ययन पूरा गरेको हो ।

‘हामीले भर्खर अध्ययन सकेका छौं, अब लगानीकर्ता खोज्ने प्रक्रिया सुरु हुन्छ ।’ योजना महाशाखाका बरिष्ठ अधिकृत डोरेन्द्र निरौलाले भने, ‘दुवै आयोजना निर्माण सुरु भएको १८ महिनामा निर्माण गर्न सकिन्छ ।’ पाथीभरामा निर्माण गरिने केबलकारमा जग्गाबाहेक ६० करोड रुपैयाँ लगानी लाग्ने देखिएको छ । जग्गासहितको लगानी जोड्दा एक अर्ब नाघ्छ । स्वर्गद्वारीमा पनि जग्गाको ५० करोडसहित एक अर्ब रुपैंयाँ लाग्ने अनुमान छ ।

पाथीभरा केबलकारको लम्बाई २.५ किलोमिटर रहनेछ । यो ताप्लेजुङको फेदी भन्ने स्थानबाट पाथीभरा पुग्नेछ । पूर्वी नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा समुद्री सतहदेखि ३,७९४ मिटर उचाइमा छ । यस्तै, प्युठानको भिंग्रीबाट स्वर्गद्वारीसम्म ३.५ किलोमिटर लामो केबलकार निर्माणपछि पर्यटक संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।