साहित्य साधना : सिर्जनकर्ममा अनवरत

आवरण कथा/साहित्य साधना : सिर्जनकर्ममा अनवरत
काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानमा गएको फागुन २४ गते भेला भएका ज्येष्ठ साहित्यकारहरूको जमघटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘जीवनको उत्तरार्द्धमा यतिका धेरै स्रष्टा भेला हुनु सामान्य कुरा होइन, यो ऐतिहासिक क्षण हो। थाहा छैन, हामीमध्ये को कतिन्जेल बाँचौंला!’

दशकौंदेखि आ–आफ्नो विधामा सक्रिय लेखक–साहित्यकारको त्यो भेला ऐतिहासिक थियो। तीमध्ये धेरै अझै लेखिरहेकै छन्। घिमिरेले भनेजस्तै त्यसयता उनका केही समकालीनले मृत्यु–रेखा पार गरिसके। अहिले जो सिर्जनकर्ममा साधनारत छन्, उनीहरूलाई बाँच्नुको अर्को नाम नै लेख्नुझैं लाग्छ। 
यो वार्द्धक्यपूर्ण जीवनको उत्तरार्द्धमा पनि कोही काँपेका हातले कलम समाउँछन् र किरिङमिरिङ लेख्छन्। कोही दिमागमै गीत या कविताको धुन गुनगुनाउँछन् र संगीतकारकहाँ गएर टिपाउँन्। कोही तौलीतौली विचार मथ्छन् र सहयोगीलाई लेख्न लगाउँछन्।
यी नयाँ पुस्ताका लागि सक्रिय ‘लिभिङ हेरिटेज’ हुन्।
यी खुला संग्रहालयबाट सिक्ने कुरा धेरै छन्। 

9

मर्न कल्लाई फुर्सद?
‘शरीरलाई ठिकै छ, कविज्यू?’
‘ठिक हुनैपर्योछ नि, नत्र ऋतम्भरा महाकाव्य कहिले सक्नु?’ बाक्ला आँखीभौं हल्लाउँदै उनी फिस्स हाँसे। 
९५ हिउँद–बर्खा काटिसकेका कवि माधवप्रसाद घिमिरेले अहिलेसम्म जे जति लेखे ती कविता, गीत, खण्डकाव्य, गीतिनाटकजस्ता विधामा फैलिएका छन्। तर, महाकाव्य लेख्ने झन्डै सात दशकअघिको सपना साकार पार्ने प्रयत्नले यो उत्तरवयमा उनी फुर्सदिला बन्न पाएका छैनन्। 
महाकाव्यको प्रसंग झिकेर कवि निवास कपुरधारामा शुक्रबार दिउँसो गफिँदा उनले फुकाए, ‘स्वास्थ्य ठिक छ तर बेठिक नहोस् भनेर त्यसको सन्तुलन मिलाउँदै छु।’
उनको आसय प्रस्ट थियो– स्वस्थता कायम नगरेसम्म लेखनमा जुट्न सकिन्न। लेखनको समय निकाल्न नसके ऋतम्भरा पूरा हुँदैन। 
साफी गर्दै गरेको ऋतम्भराकै एक अंश सुनाइहाले उनले : 
यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी।
‘यो त मेरो अबको अन्तिम ठूलो इच्छा हो, कसैगरी पूरा गर्नुछ,’ १४ सर्गमा संरचित ऋतम्भराका केही सर्ग परिमार्जनमा लागिरहेका कविले सुनाए, ‘यसका लागि मैले बाहिरका साहित्यिक कार्यक्रममा जानु भएन।’
नेपाली भाषानुवाद परिषदमा जागिर खाँदा थालेको महाकाव्य पूर्ण भएको भए सायद उनको ‘जीवनकै ठूलो अन्तिम इच्छा’ बाँकी रहन्न थियो कि! तर, लक्ष्मीप्रसाद देवकोटाले जब फुत्त बिजुली वेगझैं शाकुन्तल महाकाव्य विष्फोट गराए, घिमिरेको महाकाव्य लेखनमा ठेस लाग्यो। 
उनीसँगै देवकोटा पनि भाषानुवाद परिषदका जागिरे। मौलिक काव्य लेख्नुपर्ने जिम्मेवारीअनुसार घिमिरे महाकाव्यमा जुटिरहेका थिए। झन्डै तीन सर्ग पूरा भइसकेको थियो। अफिसमै घोत्लिएर कलम खिपिरहेका उनलाई देवकोटाले भनेछन्, ‘अहो, कविज्यूले त महाकाव्य लेख्न थाल्नुभएको रहेछ, म पनि लेखिटोपल्छु।’
देवकोटा फुत्त निस्किए, हिँडिहाले। घिमिरेलाई आफ्नै महाकाव्य ‘गोविन्द’ सक्नु थियो, त्यसमै व्यस्त रहे। 
आश्चर्य! देवकोटाकै महाकाव्य पहिले निस्कियो, शाकुन्तल।
तीव्र कल्पनाशक्ति र बेजोड शब्द सामर्थ्य भएका देवकोटाले तीन महिनामै महाकाव्य लेख्दा घिमिरे चकित परे। 
बालकृष्ण समले भनेका थिए रे, ‘एउटा कछुवाजस्तो आफ्नै गतिमा निरन्तर हिँडिरहने, अर्को गरुडजस्तो उडेको उड्यै।’ 
गोविन्दको पहिलो सर्ग परिषदले त्यस बेलै छाप्यो। अन्ततः गोविन्दको लेखनमा उनले खासै रुचि देखाएनन्। त्यही इच्छा पूरा गर्न २०६३ सालयता उनी ऋतम्भरामा लागेका छन्। 
शरीर दिनदिनै शिथिल बन्दै गएको छ। बोल्दा स्वर लर्बराउँछ। जोसमा बोल्न खोज्दा हातका औंलाको कम्पन प्रस्टै देखिन्छ। लामो समय बोल्यो कि खोकी छुटिहाल्छ। जोस चलेका बेला कागजका पानामा कलम दगुराउँछन्। ‘सोच्यो, लेख्यो, चित्त नबुझे मेट्यो,’ लेखन बानीबारे उनले बताए, ‘चित्त नबुझे दुई–तीन दिनसम्म राख्छु र फेरि परिष्कार र परिमार्जनमा जुट्छु।’ 
यतिबेला आफूलाई दुइटा समस्याले गाँजेको उनको अनुभव छ। एक– हात कामेपछि लिपि नबुझिने। दुई– बुढ्यौलीका कारण छिट्टै बिर्सिहाल्ने। 
‘कहिलेकाहीँ त आफ्नै अक्षर पनि बुझ्िदनँ,’ ठट्यौली पारामा उनी खिलखिलाए, ‘अंग्रेजी हो कि उर्दू हो कि नेपाली। लिपि नै थाहा हुन्न।’ सम्झेको कुरा लेखिहाल्यो भने लेख्यो नत्र बिर्सिहाल्दा रहेछन्। एकछिन मगजको टुटेको तन्तु जोड्न थाल्छन् र लेख्न बस्छन्। 
आधुनिक नेपाली कविता परम्पराको एउटा युग धानेका उनी एकमात्र जीवित सक्रिय स्रष्टा हुन्। उनका धेरै समकालीन भौतिक दुनियाँबाट अलग भइसके। उनलाई बाँकी काम सक्ने हुटहुटी चलिरहेकै छ। 
‘थालेका काम लठिपत्र छन्,’ उनी भन्छन्, ‘ऋतम्भराले नै मर्ने फुर्सद देलिन् जस्तो छैन। व्यस्त भएपछि मर्न पनि कल्लाई फुर्सद हुँदो रहेछ र!’ 
उनलाई त सधैंभर संसार हेरिरहूँ लाग्छ रे। हुन त यो रहस्यमय सृष्टि हेरेर कसको मन अघाऊला! ‘तर, सृष्टिको चक्रले यस्तो अवसर कसैलाई दिँदैन। अनिवार्य नियम हो, जन्मेपछि एक दिन जानुपर्छ,’ उनको इच्छा रहेछ, ‘स्वास्थ्य बिग्रेर ओछ्यानमा बस्नु नपरोस्। आफ्नो परिवारका आफूभन्दा कम उमेरकाभन्दा अघि जान पाइयोस्।’ 
आफ्नै काव्यको मूडमा भए पनि उनी पछिल्लो समय चर्चामा आएका केही किताब पढ्ने गर्छन्। अझ मदन पुरस्कार पाएका कृति त भरसक छुटाउँदैनन्। ‘अहिले काव्य सक्ने हतारो छ,’ सुनाए, ‘शारदा शर्माको भुइँफूलको देश र ताप राम्रो लाग्यो।’ 
नयाँ पुस्तालाई उनी आफ्नो अस्तित्व र पहिचान नबिर्सन आग्रह गर्छन्। ‘पहिले थोरै थियौं, सबै चिनियौं। अहिले साहित्यमा धेरै आएका छन्, चिनिन बेर लाग्छ,’ उनले भने, ‘साधनाविना सिद्धि प्राप्त हुँदैन। प्रचार र हल्लाको पछाडि नलागी राम्रो कृति दिन सके सबैले खोजीखोजी पढ्छन्।’
आत्मकथाबारे टिप्पणी आइरहेका बेला घिमिरे भने यसलाई अहंकारको संज्ञा दिन्छन्। ‘आफ्नो सिर्जनामा नै लेखक कहीँ न कहीँ आएकै हुन्छ। अरूलाई चिनाउने होइन। अरूले आफूलाई चिनून् भनने भावना लिनुपर्छ,’ आफ्नो गीतको उदाहरण दिन्छन् उनी, ‘तिम्रो प्रीति पहिले हो कि मेरो प्रीति पहिले, जान्दिनँ म एकैचोटि कुन्नि के भो कहिले…’ गीतभित्रै माधव घिमिरे बसेको छ भने किन लेख्नु मैले आत्मकथा।’

5

लेख्न नपाउँदा छटपटी
काठमाडौंको कालिकास्थानस्थित निवासभित्र बर्को ओढेर धुम्धुम्ती बसिरहेका भेटिन्छन् उनी। वरिपरि किताबका चाङ। केही पढिरहेजस्ता। केही सोचिरहेजस्ता। 
लेखनीले सात दशक काटिसक्यो तर लेखन–पठनको नशा अझै हटेको छैन। ‘लेख्न पाइन भने त जिउ नै चल्न छोड्छ,’ ९३ वर्षे उनी भन्छन्, ‘लेखनलाई उमेरले छेक्दो रहेनछ।’
त्यही भएर आराम गरेर बस्न पाएका छैनन्। बिहान पाँच बजेतिर उठ्छन्। शारीरिक व्यायाम र ध्यानमा समय दिन्छन्। त्यसपछि कोठामा पसेर किताब वा पत्रपत्रिका समाइहाल्छन्। हरेक अखबारमा आँखा पुगेकै हुन्छ। नियमितजसो लेख पनि लेखिरहेका हुन्छन्– सामाजिक, राजनीतिक वा सांस्कृतिक मुद्दाका। 
झन्डै साठी दशक लामो समय साहित्य साधना गरिसकेका उनै मदनमणि दीक्षितले अहिलेसम्म लेखेका कृतिको संख्या तीन दर्जन पुगिसकेको छ। कसैले अनुमान गरेको होला, उनका मस्तिष्कबाट कति शब्द झरे होलान्! उनले भने पाइपाइ हिसाब राखेका रहेछन्।
‘चौध सालदेखि लेखनमा लागेको हुँ। चार वर्षअघि हिसाब गरेको थिएँ, दुई करोड ४० लाख शब्द लेखिसकेको रहेछु,’ उनको गर्विलो दाबी छ, ‘भानुभक्तको समययता मैलेभन्दा धेरै लेख्न सक्ने जन्मिएको छैन।’
उनको बहीखातामा शब्द संख्या थपिइरहेका छन्, त्यसयता उनले पाँच वटा कृति निकालिसकेका छन्। थुप्रै लेख अखबारमा छापिएका छन्। योजनामा अझै केही कृति निकाल्ने सोच छ। 
‘जीवन दर्शन’ कृति प्रकाशनको तयारीमा छ। ४७ वटा विभिन्न विषयका लेख छन्, उक्त कृतिमा। ‘सूर्य, चन्द्रमा, पृथ्वीबारेका तथ्य र नेपालका नौ महापुरुष बिपी, पुष्पलाल, चन्द्रशमशेर आदिबारे लेखेको छु,’ उनले सुनाए, ‘मैले विभिन्न देशमा भेटेका नालायक प्रधानमन्त्रीहरूबारे रोचक तथ्य उल्लेख गरेको छु।’
दर्शनको किताब ‘अनन्त चैतन्य’ को अन्तिम सम्पादनमा छन् उनी। १५ दिनभित्रै प्रकाशनमा जाँदै छ। ‘अंग्रेजी र हिन्दीमा यस्तो दर्शन पाएको छैन। नेपाली पाठकका लागि बिल्कुल नयाँ कुरा हुनेछ,’ उनले किताबको संक्षिप्त वर्णन गरे, ‘मानिसको जीवनको मृत्यु भए पनि मानवको मृत्यु कहिल्यै हुँदैन। महाभारतमा कुरुक्षेत्रमा लडाइँ हुँदा कति मान्छे मरे होलान्, तर त्यसयता पनि मानव संख्या त बढेको बढ्यै छ। व्यक्ति मरेका छन्, मानव मरेको छैन। यही हो किताबको सार।’ 
दीक्षितको अनौठो बानी छ। उनले आफैंले नलेखेको झन्डै ५० वर्ष भइसक्यो। ‘२२ सालदेखि सहयोगी राखेरै लेख्न लागाएँ। अब त बानी लागिसक्यो,’ उनी भन्छन्, ‘आफैं कसैगरी लेख्न सक्दिनँ।’
अहिले उनका सहयोगीले बिदा लिएर गएको दुई महिना भइसकेको रहेछ। दिमागमा फुरेको विचार र सिर्जनालाई कापीमा उतार्न उकुसमुकुस भएर आउँछ। आफू लेख्न सक्दैनन्, किनकि सहयोगी छैनन्। ‘ममा अहिले बेचैनी र छटपटी छ,’ उनले व्यथा सुनाए, ‘नलेखी त जिउ नै नचल्ने भइसक्यो।’ 
जसरी एउटा दुर्व्यसनी लागूपदार्थको अभावमा छटपटिन्छ, ठिक उस्तै गरी दीक्षित लेखन अभिव्यक्त गर्न नसक्दा छटपटाइरहेका छन्। 
कुनै कृतिको एक–दुई अनुच्छेद पढेपछि त्यसको स्तर खुट्याइहाल्छन् उनी। ‘मकहाँ नयाँ कृतिहरू आई नै हाल्छन्,’ माधवीजस्तो बृहत उपन्यास लेखेर मदन पुरस्कार पाइसकेका उनले नाक खुम्च्याए, ‘धेरै कृति त एक अनुच्छेदभन्दा बढी पढ्नै सकिनँ।’
उनी अहिलेसम्म साहित्य लेखनमै लागिरहनुमा उनको अडान र निर्णय क्षमता नै हो। २०२१ सालतिर परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले भनेछन्, ‘परराष्ट्रमा जागिर खाने?’ अरू केही वामपन्थी साथीले पनि उक्साए, ‘यो पत्रकारितामा लागेर कति दुःख पाउने? बरु परराष्ट्रमा जागिर खाऊ, धन सम्पत्ति टन्न कमाएर बस।’
‘जागिर खान जाँदा यता समीक्षा पत्रिका बन्द हुन सक्थ्यो,’ छ वर्षदेखि डोहोर्याथउँदै आएको समीक्षाप्रतिको लगाव र प्रेमलाई त्याग गर्न सक्ने अवस्थामा उनी थिएनन्। बरु जग्गा बेच्दै पत्रिका चलाइरहे तर मन्त्रालयको लोभलाग्दो जागिरपट्टि ध्यान दिएनन्। ‘पछि थाहा भयो, महेन्द्र राजाले मलाई सोध्न पठाएका रहेछन्,’ उनले भने, ‘त्यसअघि तुलसी गिरीले पनि मन्त्रिपरिषदमा बोलाएका थिए तर ठाडै इन्कार गरेँ।’
उनले सरकारी सेवासुविधा होइन, साहित्यको सेवा र समर्पणलाई मूल लक्ष्य बनाए। अहिले पनि उनी भन्छन्, ‘ठूलो इच्छा त छैन तर लेख्दालेख्दै मर्न पाऊँ।’ 

7हप्तैभर दौडधूप
मंगलबार राष्ट्रिय कलाश्री सम्मान प्रदान गर्न व्यस्त संस्कृतिविद सत्यमोहन जोशीलाई बिहीबार पनि उस्तै धपेडी थियो। जानु थियो, राष्ट्रपति भवन जहाँ धर्मगुरु श्याल्पा तेन्जिन रिम्पोचेद्वारा लिखित ‘द आर्ट अफ थांकाः अ हिमालयन स्पिरिचुअल लिगेसी’ किताब विमोचनमा उनी नै थिए, विशेष वक्ताका रूपमा। 
राजधानीमा हुने प्रायः कार्यक्रममा जोशी पुगेकै हुन्छन्। पुस्तक विमोचनको कार्यक्रम होस् वा पुरस्कार वितरण, साहित्यिक भेटघाट वा सभा–समारेाहमा, उनी गहकिलो मन्तव्य दिइरहेका भेटिन्छन्। 
‘कतिपय चिनजानकै साथीभाइले बोलाउँछन्, नजाँदा चित्त दुखाउलान् भनेर जाने गर्छु,’ ९५ वर्षे जोशीले सुनाए, ‘कतिचाहिँ नचिनेका भाइहरू घरमै गाडी लिएर बोलाउन आउनुहुन्छ।’
आयोजकले आफूलाई बोलाउने योजना बनाइसकेको हुनाले आउँदिन भनेर पन्छिन नमिल्ने उनी सुनाउँछन्।
साताको सातै दिनजसो विभिन्न खाले कार्यक्रममा व्यस्त हुन्छन् उनी। कहिलेकाहीँ त दिनमै दुई–तीन कार्यक्रम भ्याउनुपर्ने हुन्छ। ‘शरीर थाकिहालेको छैन,’ परिपक्व उमेरमा पनि उस्तै जोस देखाउँदै उनी भन्छन्, ‘हिँड्न–बोल्न सकुन्जेल त गर्ने हो।’
अध्ययन र लेखनमा पहिलेजस्तो नियमित समय दिन सकेका छैनन् उनले। तर, नेपाली मूर्तिकलासँग सम्बन्धित पुरानो पाण्डुलिपिको परिमार्जनमा अहिलेका दिन बितिरहेको सुनाउँछन्। ‘पाण्डुलिपि तयार भइसकेको त धेरै समय भइसक्यो,’ उनले भने, ‘प्राचीन र मध्यकालीन नेपाली मूर्तिकलासम्बन्धी लामो अध्ययनलाई पुस्तकको रूप दिन लागेको हुँ।’ प्रकाशनको मिति ठ्याक्कै नखुलाए पनि चाँडै बजारमा आउने उनले संकेत गरे। 
नेपाली दौरा सुरुवाल, कोट र खैरो रङका टोपी नै उनको पहिचान हो। १९८८ मा पहिलोपटक गोरखापत्रमा उनको कविता छापिएपछि उनका निबन्ध, नाटक, महाकाव्य, लोकसंस्कृति, मूर्ति र मुद्रासँग सम्बन्धित झन्डै पाँच दर्जन कृति प्रकाशनमा आएका छन्। तीनपटक मदन पुरस्कार पाएका जोशीलाई त्रिमूर्ति निकेतनले यसै वर्ष पाँच लाख रुपैयाँसहित ‘शताब्दी पुरुष’ घोषणा गरेको छ भने उनकै उचाइ बराबरको ताम्रपत्र प्रदान गर्दै छ। 
संस्कृति, इतिहास र समालोचनाका अध्येतासमेत रहेका उनलाई अहिलेका किताबले खासै छुँदैन। भन्छन्, ‘अध्ययन गर्न रुचि जगाउने खालका छैनन्। लभस्टोरी टाइपको किताब मलाई मन पर्दैन। दर्शन र इतिहासका गहन किताब अहिले पाइन्न।’ 
नयाँ पुस्ताका लेखकले गहिराइमा पुगेर लेख्न नसकेको उनको बुझाइ छ। ‘सतही लेखनले इतिहास कायम हुँदैन,’ उनको सुझाव छ, ‘गहिराइमा पुगेर लेख्न अध्ययन पनि उत्तिकै फराकिलो बन्नु जरुरी छ।’ 
हेर्दा ठमठम्ती हिँडिरहेका भेटिन्छन् उनी। नजिकै कुनै कार्यक्रम भए पैदलै जान रुचाउँछन्। ‘आफूलाई अहिलेसम्म खासै रोगले छोएको अनुभव छैन, त्यही भएर हिँडडुल र लेखपढ गर्न सकिरहेको छु,’ उनी भन्छन्। 
बुढ्यौलीले छोएपछि शरीर शिथिल बन्दै जान्छ। शरीरका तन्तु कमजोर बन्दै जान्छन्। कार्यक्रमको चापाचापले बेलुकी घर आइपुग्दा बढी नै थाकेको महसुस हुन थालेको छ आजकाल। ‘अबचाहिँ घरमै आराम गरेर बसौं जस्तो पनि लाग्छ,’ उनी भन्छन्, ‘तर, त्यसो भनेर धर नपाइने रहेछ, एकातिर कार्यक्रमको दौडधूप, अर्कातिर आफ्नै किताब निकाल्ने ध्याउन्न।’ 
मूर्तिकलासम्बन्धी किताब निकाल्न सके लामो समयदेखिको इच्छा पूरा हुने उनी बताउँछन्। 

2आत्मकथाको तयारी
कथाकार परशु प्रधानको फेसबुक अकाउन्ट छ, जहाँ उनी कहिले ‘एट बानेश्वर’ अपडेट गर्छन् त कहिले लेख्छन्, ‘म फेसबुक सिक्दै छु।’
उमेरले ७१ वर्ष पार गरिसक्यो, उनी केही महिनायता फेसबुकको दुनियाँमा रत्तिन थालेका छन्। ‘अमेरिका बस्ने नातिनीले ट्याब्लेट पठाइदिएपछि फेसबुक बनाएँ। अहिले त्यसबाट साहित्य र अन्य सूचना धेरै पाउने गरेको छु,’ फेसबुकले आफ्ना समकालीन र पाठकसम्म जोडेकोमा उनी खुसी छन्, ‘साहित्यिक अन्तर्क्रिया गर्न, पाठक र लेखकसँग जोडिन सजिलो हुँदो रहेछ।’
उनी कथाकारमात्रै होइनन्, भूमिका लेखनमा पनि उत्तिकै सक्रिय छन्। गएको भदौमा विभिन्न कृतिमाथि उनले लेखेका भूमिकाहरूको संग्रह ‘भूमिकै भूमिकामा परशु प्रधान’ सार्वजनिक भयो। 
शरीरले सकुन्जेल साहित्य साधनामै लागिरहने उनको इच्छा छ। प्रधानको आत्मकथा ‘जिन्दगीका मोडहरू’ अन्तिम चरणमा छ। ‘प्रकाशकसँग कुरा भइरहेको छ, चाँडै प्रकाशनमा जाला,’ उनले सुनाए। तर, घोस्टराइटिङको विपक्षमा छन् उनी। ‘त्यसले लेखकको सिर्जनालाई मार्छ,’ उनी भन्छन्, ‘त्यो लेखनमा आफ्नोपन आउँदैन। आफ्नोबारे आफैंले लेख्ने हो।’ 
उनको अचम्मको लेखन बानी रहेछ। कुनै विषयमा सुरु गर्न केही समय लागे पनि खरखर लेख्न सक्ने। ‘एकपटक लेखेपछि त्यही अन्तिम हो,’ उनी गर्व गर्छन्, ‘कतै केरमेट गर्दिनँ, फर्स्ट राइटिङ नै फाइनल।’ 
नेपाली साहित्यमा ‘सीताहरू’ लेखेर २०६४ मा ‘हाइपर नोभेल’ (कथोपन्यास) उनैले भिœयाएका हुन्। २०५३ मा ‘कथा र रचनागर्भ’ कृतिमार्फत ‘रचनागर्भ’ लाई स्थापित गरिदिए। ‘भारतीय साहित्यमा कृतिको रचनागर्भबारे अध्ययन गरेको थिएँ,’ उनी भन्छन्, ‘हामीकहाँ पनि नयाँ प्रयोग गर्न खोजेको हुँ।’ 
पछिल्लो समय यौनका विषयलाई बढी उरालिएकोमा चिन्तित छन् उनी। ‘युवामा यौन साहित्यप्रति रस बस्नु स्वाभाविक हो तर लेखकले त्यसलाई आधार बनाएर विकृत यौनका विषय लेख्नुहुन्न,’ उनी थप्छन्। 
सरकारी जागिर खाँदाखाँदै ०५१ सालमा उनले स्वैच्छिक अवकाश लिए, साहित्यमै समर्पित हुन विराटनगर पुगेर वाणी प्रकाशन स्थापना गरे। पूर्वी नेपालमा मात्र नभई भारतका दार्जिलिङ, सिक्किम, बंगलादेशसम्मका लेखक–साहित्यकारसँग प्रकाशनले सम्बन्ध विस्तारमा काम गरेको उनी सम्झन्छन्। १० वर्षपछि उनी काठमाडौं आए, तर लेखन छाड्न सकेनन्। 
साहित्यमै लाग्न सरकारी जागिर छाडेको बताउने उनी अब जागिरे जीवनलाई भुल्न चाहन्छन्। ‘जागिर मेरो जीविकापार्जनको माध्यममात्र थियो,’ यसै साता शंकर कोइराला स्मृति पुरस्कारबाट सम्मानित उनी भन्छन्, ‘साहित्य सन्तुष्टि र सेवाका लागि गरेको छु।’ 
साहित्यमा देखापरेको विकृति चित्त बुझेको छैन उनलाई। ‘हाम्रो पालामा त स्वच्छ प्रतिस्पर्धा हुन्थ्यो। एक अर्का साहित्यकारप्रति सम्मानको भाव हुन्थ्यो,’ उनको रोष छ, ‘अहिलेको साहित्यमा जातीय, क्षेत्रीय गुटबन्दी भएको देख्ने गरेको छु। यसले असल साहित्य जन्मिँदैन र साहित्यको विकास पनि हुन्न।’ यसबीच देखिएका केही राम्रा लेखक पनि गुटबन्दीको चेपमा पर्ने हुन् कि भन्ने डर छ उनलाई। 
साढे पाँच दशकको साहित्य यात्रामा धेरै लेखे उनले। धेरै पढे। विविधताको व्यापकता भएको देशमा लेखिनका लागि धेरै विषय बाँकी रहेको उनी बताउँछन्। ‘पिल्सिएका र किनारीकृतका व्यथा पर्याप्त आएका छैनन्। दूरदराजसम्म लेखकका आँखा पुगेका छैनन्,’ उनले भने, ‘बिल्कुल भर्जिन साहित्य आउनु जरुरी छ।’

6जब दिमागमा धुन बज्छ
गएको जेठ २९ गते म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेपाल आउँदै थिइन्। उनले कविता लेखिहाले–

तिम्रो त्याग समर्पण
तिम्रो धैर्य अहो!
बर्माको त्यो सैन्य–सत्ता
पनि त्यसै गल्यो।
धन्य तिमी शान्तिमूर्ति
धन्य नारी–बुद्ध
शत्रु नहराई जित्ने
धन्य तिम्रो युद्ध। 

उनको नाममा फेसबुक पेज छ, जहाँ हरेक बिहान चार हरफको ‘विपश्यना दोहा’ कलात्मक डिजाइनका साथ राखिहाल्छन्। 
तिनै सक्रिय कविलाई भेट्न बिहान आठ बजे ठमेलस्थित निवास पुग्नुअघि नै उनले एउटा कविता लेखिसकेका रहेछन्। डायरीको पानामा नबुझिने किरिङमिरिङ अक्षरमा शीर्षक लेखिएको थियो– पात्रचयन।
उनै कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ उमेरले ८० वर्ष टेक्दै छन्। लेखन ऊर्जा र कुराकानीको जोस हेर्दा भने २८ वर्षे जवानझैं लाग्छ। 
केश सेतै फुलेका श्रेष्ठ कान कम सुन्छन्, सुन्नलाई श्रवण यन्त्रकै सहारा चाहिन्छ। बिहानीको शीतल वातावरण उनलाई मन पर्छ। बढीजसो लेख्ने समय त्यही हो। 
उनलाई भेट्न दैनिकजसो कोही न कोही पुगेकै हुन्छन्। कहिले पुराना साथी, कहिले आफ्ना गीतका स्रोता शुभचिन्तक, कहिले आफूले पढाएका विद्यार्थी त कहिले पत्रकार। उनी प्रायः व्यस्त रहन्छन्, समय मिलाउनै गाह्रो। 
एकपटक उनीकहाँ क्यालेन्डर आइपुगेछ। विपश्यना ध्यान केन्द्रले निकालेको क्यालेन्डरको हरेक पानामा लेखिएका दोहा पढ्न थाले। पढ्दै गए, गहिराइमा डुब्दै गए। उनलाई जोस चढिहाल्यो– नेपाल भाषा र नेपालीमा अनुवाद गरे। नातिलाई हरेक दिन फेसबुक पेजमा कलात्मक डिजाइनमा सजाउन थाले। अनुवादलाई आनी छोइङले मन पराइन् र केही अंश गाइन्– ‘मंगलवाणी’ गीति एल्बममा।
उनले धेरैजसो कविताकृतिको अनुवाद त्यसरी नै गरेका छन्। पढ्दा पढ्दै मन छोयो कि अनुवाद गरिहाल्ने। अनुवादका लागि उनी कुनै योजना बनाउँदैनन्। भारतीय कवि हरिवंश राय बच्चनको ‘मधुशाला’ लाई पनि उनले त्यसरी नै अनुवाद गरेका थिए, जसले उत्कृष्ट अनुवादका लागि ‘श्रेष्ठ पुरस्कार’ प्राप्त गर्योत। 
कवि श्रेष्ठ चिन्तन र अध्ययनमा बुद्धत्वको खोज गरिरहन्छन्। विपश्यनामा उनको रुचि छ। यद्यपि उनी आफैं भने विपश्यनामा लीन भएका छैनन्। 
घरको परिवेशमा रहँदा एकदम कम लेख्छन् उनी। कोही नभएको मौका पारी कोठाभित्र पस्छन् र गुनगुनाउन थाल्छन्– मौरीझैं। किनकि पहिले दिमागमा धुन बज्न थाल्नुपर्छ उनलाई, अनिमात्र फुर्छन् गीतका स्थायी र अन्तरा अनि कविताका श्लोक।
‘कविता दिमागमा बसेपछि गुनगुन–गुनगुन गरेझैं लाग्छ,’ उनी भन्छन्, ‘दिमागमा धुन बनेपछि मात्रै लेख्छु। लय समात्न खोज्छु, त्यसले बिस्तारै भाव प्रस्फुटन गराउँदै लान्छ।’
उनको गीतमा प्रायः संगीतकार न्ह्यू बज्राचार्य जोडिएकै हुन्छन्। उनका पिता परमानन्द र श्रेष्ठ निकटका मित्र थिए। परमानन्द त बिते तर उनको र दुर्गालालको मित्रता भने जारी नै रह्यो, परमानन्दका कान्छा पुत्रमार्फत। 
उनैले आफ्नो संगीतमा श्रेष्ठका धेरै गीत रेकर्ड गराइसकेका छन्। बेलाबेला न्ह्यू नयाँ धुन तयार पारेर श्रेष्ठलाई खबर गर्छन् वा लिन आइपुग्छन्। कहिले श्रेष्ठ आफैं धुनको सुरमा तानिएर उनीकहाँ पुग्दा रहेछन्।
‘म त्यही संगीतको तालमा गीत फुराउँछु, उनी टिप्न थाल्छन्,’ गीतकार श्रेष्ठले भने, ‘यसरी मेरा धेरै गीत सिर्जना भएका छन्।’ उनको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ समेत त्यसरी नै सिर्जना भएको थियो। न्ह्यूले पहिल्यै तयार पारेको संगीतमा उनले खुरखुर पाँच–सात मिनेटमै सिंगो गीत लेखिदिए, न्हयूकै स्टुडियोमा।
श्रेष्ठका पुगनपुग अढाइ सय गीत रेकर्ड भइसकेका छन्। पाँच सयभन्दा बढी त न्ह्यूले नै टिपेर राखेको उनी बताउँछन्। 
पछिल्लो समय नेपाल भाषामा कम लेखेका छन् उनले। ‘यसका पाठक घट्दै गए,’ नेपाल भाषाका जनकविले सुनाए, ‘गीत रेकर्डका लागि वा कविता माग्नेहरूले पनि नेपालीमै माग्ने गर्छन्।’
अध्ययनको सवालमा भने श्रेष्ठ फरक प्रकृतिका छन्। उनी ठेलीका ठेली किताब पढ्ने मान्छे होइनन्। ‘अध्ययन आवश्यक छ तर एकोहोरो तालले किताब पढ्नैपर्छ भन्ने लाग्दैन,’ उनको बुझाइ छ, ‘मान्छेको जीवनलाई गहिरिएर राम्रोसँग बुझ्ने हो भने त्योभन्दा ठूलो किताब अरू छैन। किताब त केवल माध्यममात्रै!’ 
प्रविधिमा उनी अलि पछाडि नै छन्। ‘म त यसबारे जान्दिनँ। सबै काम नातिले नै गरिरहेको छ,’ उनले भने, ‘प्रविधिको अपत्यारिलो विकास देख्दा अचम्म लाग्छ। एक–अर्काबीच साहित्यिक संवादमा पनि यो विचित्रको माध्यम रहेछ।’
एकपटक त्यही प्रविधिले उनलाई धुरुक्कै रुवाइदियो। कम्प्युटरमा टाइप गरिएको करिब दुई सय कविता अकस्मात ‘डिलिट’ भएर यसरी हराइदिए, जसरी आकाशबाट पुच्छ्रेतारा बिलाएर जान्छ। 
श्रेष्ठको अनुभवमा सहनुजस्तो बाँच्नु अर्को छैन। मृत्यु जुनसुकै बेला हुन सक्छ तर यसबाट तर्सिनु बेकार छ। जीवनमा ठूलो इच्छा राख्नु नै के छ र? इच्छा वा मोह राख्यो भने मान्छे झन् त्यो प्राप्तिका क्रममा दुःखी बन्दै जान्छ। 
‘ममा कुनै इच्छा छैन। र, योजना बनाएर जीवन बाँच्दिन,’ उनले भने, ‘योजना बनाएर बाँचियो भने त त्यो गणितीय जीवन भइगयो नि। त्यसमा जीवनको असली स्वाद कहाँ पाइन्छ?’ 
उनले देवकोटा, सम, सिद्धिचरणको युग पनि भोगे। त्यो बेलाका अनुजले अग्रजप्रति देखाएको सम्मान र आदर ज्यादै अनुशासित भएको उनी सम्झन्छन्। ‘तर, अहिले त्यस्तो छैन,’ उनले देखेका छन्, ‘साहित्य, कला, संगीत सबै क्षेत्रमा अमर्यादित, आडम्बर र अहंकारी प्रवृत्ति देखा परेको छ। यस्ताको कलममा अक्षरमात्रै हुन्छ प्रेम र संवेदना हुँदैन।’
१५ वर्षअघि नेपाल भाषामा प्रकाशित ‘बी निभालय् ह्वःगु ख्वीत्यफ्वःस्वा’ शोक काव्य कुनै अमेरिकीले कतै प्राप्त गरेछन्। सोही कृतिलाई अंग्रेजी अनुवाद गराइसकेर भेट्न आउँदा पो श्रेष्ठ छक्क परे। उक्त ‘द ब्लोसम्स् अफ सिक्स्टी फोर सनसेट्स’ काव्यको पृष्ठभूमिबारे उनले भने, ‘दाजु बितेपछि पारि घरको भित्तामा देखिएको अस्ताउँदो घामको छायासँगको संवाद हो यो।’ 
राम्रो प्रकाशक पाए अझै केेही कविता संग्रह निकाल्ने सुरमा छन् उनी। तिनै कविताको चाङबाट अब्बल सिर्जना छनोटमा उनको व्यस्तता बढेको छ। कविताकै संग्रह निकाल्ने हो भने कम्तीमा पाँच वटा किताब तयार हुने पाण्डुलिपि उनीसँग छन्। 
२००४ सालमा इन्द्रजात्रामा देखाइने ‘दबु प्याखं’ बाट उनमा साहित्यिक–सांस्कृतिक रस बस्यो। उनको पहिलो रचना नै डबली नाटक थियो, जसमा उनी आफैं खलनायकको भूमिकामा थिए।
‘कुनै समूह नाटकको तयारीमा रिहर्सल गरिरहेको रहेछ,’ उनी सम्झन्छन्, ‘मैले ढोकाबाट के चियाएको थिएँ, कसैले भित्रबाट चोर औंलाले च्वास्स आँखा घोचिदियो। त्यही पीडाले रन्थनिएर केही साथी भेला भई डबली नाटकको तयारी गरेका थियौं।’
उनी हाँस्दै भन्छन्, ‘म बेलाबेला अन्यमनस्कै कृतज्ञ हुन पुग्छु, त्यो चोर औंलाप्रति, जसको ईखकै कारण मेरो मोड बदलियो।’

8उपन्यास सपना
कथाकार माया ठकुरीको पछिल्लो कथा संग्रह ‘आमा जानुहोस्’ को चौथो संस्करण छापियो। न त्यसको कतै चर्चा भयो न उनले विज्ञापनका लागि कुनै अखबारमा दौडधूप गरिन्। 
‘अहिले त दोस्रो संस्करण आउनासाथ ठूलो हल्ला हुने रहेछ,’ ललितपुरस्थित घरमा उनले सुनाइन्, ‘मेरो कथा चौथो संस्करण छापिएर आयो तर मैले हल्ला गरिनँ। मलाई प्रतिस्पर्धाको दौडमा सहभागी हुनु छैन।’ साहित्यमा साधना र समर्पण होइन विज्ञापन र हल्लाको होडबाजी हुने गरेकोमा उनलाई चिन्ता लागेको छ।
उमेरले ७० टेक्न लाग्दै छ। चिसो हुनासाथ घाँटी ख्याप्पै बसिदिन्छ। बोल्न समेत गाह्रो हुन्छ। उनी अहिले पनि पात्रहरूसँग कुरा गर्दै कथा लेखिरहेकी छन्, विगतका सम्झनालाई संस्मरणमा उतार्दै छिन्। 
आफ्ना कथाहरूको अंग्रेजी अनुवाद भरखरै सिध्याइन्। त्यो चाँडै बजारमा आउँदै छ। नेपाली कथाको संग्रहका रूपमा आठौं कृति पनि निकाल्ने ध्याउन्न छ। ‘बेलाबेला शरीरले साथ दिँदैन,’ उनी भन्छिन्, ‘तर साहित्यप्रतिको मायाले लेख्ने हुटहुटी जागिहाल्दो रहेछ।’
उनी कुनै बेला पोखरा बसेर पढाउँथिन्। त्यहीँको परिवेश उनेर उपन्यास पनि लेख्ने कोसिस गरिन्् तर त्यो पूर्ण हुन सकेन। ‘अहिले त्यसको पुनर्लेखनमा पनि समय खर्चिरहेको छु। पहिलेदेखिकै उपन्यास निकाल्ने सपना पूरा गर्ने धोको छ।’ 
नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत अनुवाद विभागको सल्लाहकारमा नियुक्त भएपछि उनको व्यस्तता अलि बढेको छ। ‘साहित्यिक कार्यक्रम, मिटिङतिर गइरहनुपर्छ,’ भरखरै २०७० को वनिताश्री देवकुमारी कथा विशिष्ट सम्मान पाइसकेकी ठकुरीले भनिन्, ‘घरका अधकल्चो पाण्डुलिपि पूरा गर्ने ध्याउन्नमा बेलुकी कतिखेर घर फर्कौंजस्तो लागिरहन्छ।’ 
एउटा गीतसंग्रह र सात वटा कथाकृति निकालिसकेकी उनको कवितामा उति रुचि छैन। ‘कथामा पात्रका माध्यमबाट आफूलाई प्रस्तुत गर्न सजिलो हुन्छ,’ कविताप्रति उनको धारणा छ, ‘जीवनका भोगाइ, अनुभव, संघर्षलाई कविताको सानो आयामले मात्रै अटाउँछ जस्तो लाग्दैन।’
हल्ला र विज्ञापनले चल्ने साहित्य बजारलाई उनी प्लास्टिकको फूलसँग तुलना गर्छिन्। ‘त्यो फूल नै हो, आकर्षक हुन्छ तर त्यहाँ बास्ना हुँदैन,’ उनको बुझाइ छ, ‘मेहनत र साधना छ भने हरेक किताबमा पाठकको ध्यान जान्छ। आफैं खोज्न थाल्छन्।’ 

4कहाँ बूढो भएँ र?
काठमाडौंको न्युरोड नजिक झोँछेको भित्री गल्लीमा पर्छ, बाल साहित्यकार शान्तदास मानन्धरको घर। त्यहीँ छ, बालकोसेली प्रकाशन गृह। उनी ४० वर्षदेखि निरन्तर बालकोसेली बालपत्रिका निकालिरहेका छन्। त्यसैको प्रबन्ध सम्पादक उनी पत्रिकाको संयोजन गर्छन्। चित्र कोर्छन् र लेआउट डिजाइन गर्न पनि भ्याउँछन्।
उनी पाँच बजेतिरै उठ्छन्। नित्यकर्म सकेर लेख्न थालिहाल्छन्। दिउँसो प्रकाशनकै जिम्मेवारीले भ्याइनभ्याइ हुन्छ उनलाई। कुराकानीकै बीचबीचमा आफ्ना प्रकाशनका किताबबारे आएका अर्डर लिन उनी व्यस्त भइरहेका थिए। 
पहिले उनी हातैले लेख्थे। अहिले सोझै कम्प्युटरको किबोर्डमा औंला पुर्या उने बानी परेको छ। ‘कापीमा लेख्यो, फेरि कम्प्युटरमा टाइप गर्नैपर्छ,’ उनी भन्छन्, ‘झन्झट किन गर्ने? प्रविधिले दिएको सुविधा हाम्रै लागि त हो।’
२०१५ सालमै पहिलो किताब ‘सम एस्सेज’ निकालेका उनको कलम बालसाहित्यतिर मोडियो, २०२२ देखि। स्थानीय एक स्कुलको प्रधानाध्यापक छँदा भित्तेपत्रिका निकाल्ने सिलसिलामा साना विद्यार्थीसँग घुलमिल हुन पुगे। ‘मैले बुझेसम्म देवकोटाबाटै बालसाहित्यको सुरुआत भएको हो,’ देवकोटाको सुनको बिहानी, पुतलीजस्ता कविताको उदाहरण दिँदै उनले भने, ‘केटाकेटीकै लागि साहित्य लेखिनुपर्छ भन्ने सोच उनमा उःबेलै रहेछ। त्यसयता रमेश विकलले यसमा कलम चलाए।’
मानन्धरको अनुवले बताउँछ– बालसाहित्य उति सजिलो विधा होइन। ‘मसिनो किटाणु हेर्न माइक्रोस्कोप चाहिन्छ, यस्तै बालमस्तिष्क बुझ्न त्यस्तै दृष्टि लगाउनुपर्छ,’ उनी भन्छन्, ‘किशोर वा युवाकालमा प्रवेश गर्दै गरेको मान्छेले बालसाहित्य लेख्न सक्दैन। यसमा त विशेष साधना र तत्परता चाहिन्छ। अहिलेका बालसाहित्य सर्जकमा १० प्रतिशत मात्रै राम्रा छन्।’
अहिले पनि उनी ठमठम हिँडिरहेकै छन्। कुनै स्कुलमा पुगे कि केटाकेटीलाई पढाउँछन्। भाका हालेर कविता, कथा सुनाउँछन्।
विभिन्न कार्यशाला सञ्चालन गर्दै आएका उनी बालकथा लेखनबारे सिकाउँछन्। ‘घरमै केटाकेटी बोलाएर पनि लेख्न सिकाएको छु,’ उनले सुनाए। कथा लेखनबारे आफूले सिकाएका अनुभव संकलन गरेर किताब प्रकाशनको तयारीमा छन्। कार्यशालामा लेखिएका कथाको संयुक्त बालकथा संग्रह पनि चाँडै आउँदै छ। 
‘म त अब कथाकार भन्दा बढ्ता सम्पादक भइसकेँ,’ उनी भन्छन्, ‘कथा सम्पादन र प्रकाशनका लागि आग्रह आइरहन्छन्, त्यही व्यस्तताले कथा लेखन कम हुँदै गएको छ।’ 
यो वृद्ध उमेरमा पनि यस्तो व्यस्तता?
‘म कहाँ बूढो भएँ र,’ प्रश्न झर्न नपाउँदै उनी जंगिहाले, ‘गाली गर्न र कराउन सकिरहेकै छु।’

तेजेश्वरबाबु ग्वंगःआर्यघाटमा लेख्न छाड्छु
निबन्धकार तेजेश्वरबाबु ग्वंगःको कविता संग्रह ‘चराको गुँडझैं बासस्थान– मेरो भक्तपुर’ भरखरै छापिइसकेको छ। प्राविधिक गडबडीले किताबका केही लाइन छुटेकाले तत्कालका लागि विमोचन कार्यक्रम स्थगित गरेका छन्।
‘५५ वटा कविता समेटेको छु,’ २०१३ सालदेखि लेखिएका कविताको संग्रह निकाल्न तम्सिएका उनले सुनाए, ‘यही साता विमोचन गर्ने योजना थियो, प्रेसको गडबडीले अहिले रोकिएको छ।’ यो उनको पहिलो कविता संग्रह हुनेछ। यसअघि उनका तीन वटा निबन्ध कृति प्रकाशित छन्। 
२०१० सालमै ‘प्रेम’ शीर्षकको निबन्धबाट साहित्य प्रवेश गरेका उनीसँग पाण्डुलिपिका थुप्रै ठेली छन्। तर हत्तपत्त प्रकाशनमा जाँगर चलाउँदैनन् उनी। ‘लेखनमा जति ऊर्जावान छु, प्रकाशनमा उत्तिकै अल्छे म,’ उनी भन्छन्, ‘पाण्डुलिपि सँगाल्नै गाह्रो लाग्छ।’ प्रकाशकले तारन्तार किताब छाप्न घचघच्याइरहेका छन्, तर लेखनको लत छाडेर पाण्डुलिपि उधिन्न उनलाई फुर्सद कहाँ! 
‘निबन्धका पाण्डुलिपि नै भेला गर्ने हो भने झन्डै एक दर्जन कृति निकाल्न सकिन्छ,’ उनी हौसिए। 
किताब विमोचन होस् या पुरस्कार वितरण कार्यक्रम। सांस्कृतिक कार्यक्रम वा भोज, उनी पुगेकै हुन्छन्। ‘मभन्दा अग्रज माधव घिमिरे, सत्यमोहन जोशी, मदनमणि दीक्षितहरूले लेखिरहनुभएको छ, उहाँहरूको सक्रियता देखेर नै ममा एकखाले ऊर्जा फलाउँछ,’ उनको आवाजमा जोस भरिन्छ, ‘म त ८० वर्षे तन्नेरी, लेख्ने बेलामा त्यत्तिकै जाँगर आइहाल्छ।’
उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाका चेला थिए, कुनै समय। एक महिना नेपाली र अंग्रेजीको ट्युसन पढ्दा देवकोटाबाट ठूलो प्रभाव ग्रहण गरेको ग्वंगः सुनाउँछन्। ‘उहाँका कविता र निबन्ध पढेपछि मलाई पनि त्यस्तै लेख्न मन लाग्थ्यो,’ उनी सम्झन्छन्, ‘यसरी नै म निबन्धपट्टि लहसिएँ।’
सांस्कृतिक, सामाजिक वा साहित्यिक लेख अखबारमा आइरहेकै छन्। अंग्रेजी भाषामा पनि उनको लेखन सक्रियता उत्तिकै देखिन्छ। ‘विचारको मन्थन पूर्ण भएका बेला लेख्न बसेँ भने तीन घन्टाभित्र एउटा निबन्ध सिध्याउँछु,’ यसको जस उनी भगवानलाई दिन्छन्, ‘अहिलेसम्म लेख्न/पढ्न सकेकै छु, हिँडिरहेकै छु। सबै भगवानको इच्छा होला।’
३७ वर्षे सरकारी जागिरबाट २०४९ सालमा अवकाश पाए पनि उनले छतमा घाम तापेर दिनलाई फुर्सदिलो बनाएका छैनन्। ‘अवकाशपछिको मूल जिम्मेवारी नै लेखन हो। आँखा देखुन्जेल र हात चलुन्जेल किन छाड्थेँ,’ यस वर्षको ९० हजार राशिको शमी साधना पुरस्कार र भरखरै चक्रपाणि स्मृति पुरस्कार पाएका उनी ठट्यौली पारामा भन्छन्, ‘लेख्ने क्रमचाहिँ आर्यघाटमा पुगेरमात्रै छाड्छु।’ सकारात्मक सोचाइ र लेखनमा इमानदार भइयो भने लेख्नलाई उमेरले नरोक्ने उनको अनुभवले बताउँछ। समयानुकूल लेखनको विषय र शैलीशिल्प बदलिनुपर्नेमा उनी सहमत छन्। ‘हामीजस्ता बूढाहरूले पुरानो शैली लैख्दै/पढ्दै आएका हौं, नयाँ स्वाद पकड्न गाह्रो होला,’ उनले थपे, ‘तर नयाँ टेस्ट त त्यसमा पाइन्छ।’ अन्त्यमा उनले आख्यानकार कुमार नगरकोटीको प्रयोगशिल्पबारे प्रशंसा गर्न भुलेनन्। नागरिक दैनिकले आवरण कथा छापेको छ ।