वीरले ल्यायो नयाँ सिटी स्क्यान

काठमाडौं-लामो समयदेखि सिटी स्क्यान सेवाविहीन वीर अस्पतालमा नयाँ मेसिन जडान गरिएको छ। १४ वर्षअघि किनिएको पुरानो मेसिन १५ महिनाअघि बिग्रिए पनि प्रशासनले मर्मतमा चासो नदिँदा अस्पताल सिटीविहीन भएको थियो।स्वास्थ्य सेवा विभागले दिएको १६ स्लाइसको मेसिन वीरमा आएर जडानसमेत भइसकेको छ। केही दिन ट्रायलका रुपमा चलाएर आइत वा सोमबारदेखि नियमित सेवा सुरु गरिने अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले बताए।
वीरमा सिटी नहुँदा बिरामी निजीमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य थिए। गम्भीर अवस्थाका बिरामीलाई समेत सिटी गर्न निजामती वा आर्मी अस्पतालमा पठाउने गरिएको थियो। करोडौं रुपैयाँ पर्ने सिटी क्यान खरिदमा हुने कमिसन खेलले वीरमा सिटी राख्न ढिलाइ भइरहेको थियो। सिटी नहुँदा लामो समयदेखि हजारौं मानिस सिटी स्क्यानका लागि मात्र बिदेसिनुपर्ने बाध्यता थियो। सिटी उपलब्ध गराउनुपर्ने भन्दै वीरमा कार्यरत रेजिडेन्ट चिकित्सकले समेत आन्दोलन गरेका थिए।