गोरखामा २७ करोडको सुन्तला उत्पादन

गोरखा-गोरखा जिल्लामा यस वर्ष रु २७ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यस वर्ष कृषकले सात हजार ८२१ मेट्रिक टन सुन्तला उत्पादन गरेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले जानकारी दिए ।
यस वर्ष सुन्तलाको बगैँचा उत्पादनमा केही मात्रामा ह्रास आए पनि उत्पादन क्षेत्र पनि केही वृद्धि भएको बताइएको छ । एक नगरपालिका र ६६ गाविस भएको गोरखा जिल्लामा कृषकले ९०८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्ने गर्दछन् ।
जिल्लाका मनकामना, ताङ्गलीचोक, माक्सिछाप, नारेश्वर, देउराली, फिनाम, घ्याम्पेछाप गरी सात गाविस भने सुन्तलाखेतीका पकेट क्षेत्र नै मानिन्छन् । यी लगायत अन्य गाविसका करिब पाँच हजार कृषक सुन्तलाखेतीमा प्रत्यक्ष संलग्न रहेको पाइन्छ ।
यहाँ उत्पादन भएको सुन्तला ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत बाहिरी जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ । विशेषगरी यहाँको सुन्तला काठमाडौँ, नारायणगढ र पोखरामा पठाइने गरेको अधिकृत श्रेष्ठले बताए ।
कृषकले सुन्तला बिक्रीका लागि टिप्ने गरेका र व्यापारी कृषकको बगैँचामै गई ठेक्का लिने गरेको पनि बताइएको छ । अहिले यहाँ प्रतिकिलो रु ६० मा सुन्तला बिक्री हुने गरेको छ ।