सार्कका पाहुनाहरु धुलिखेल रिट्रिटमा

मंसिर ११, काठमाडौँ-१८ औँ सार्क शिखर सम्मेलनमा सबै सदस्य राष्ट्रका प्रमुखहरू धुलिखेल गएका छन् । उनीहरु  रिट्रिटका लागि सबै राष्ट्रका राष्ट्र तथा सरकार प्रम्खहरू बिहान ८ बजे विमानस्थलबाट हेलिकोप्टरमा धुलिखेल पुगेको बताइएको छ। राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट पाहुनाहरु रिट्रिटमा सहभागी हुनेछन्। रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आर्कषणको रुपमा लिइन्छ। सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ।  रिट्रिटका समयमा सहभागी राष्ट्ररसरकार प्रमुखबीच खुलेर एक आपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ। दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ।

शिखर सम्मेलनको दोस्रो दिन आयोजक राष्ट्र नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको विश्रामको व्यवस्था मिलाएको हो। विशिष्ट पाहुनाहरु हेलिकोप्टरबाट यहाँ आउनेछन्।  तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ। अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषत पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ। उनीहरु विमानस्थल जाने क्रममा आवागमनका लागि होटेल सोल्टीदेखि विमानस्थलसम्मको बाटो पूर्णरुपले खाली गराएको थियो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोल्टी, कालिमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तीनकुनेदेखि विमानस्थलसम्मको सडक बिहान साढे सातबजेदेखि नै खाली गराइएको थियो ।