सार्क राष्ट्रका प्रमुखहरु आज अपराह्न्न भित्रै नेपाल आइपुग्ने (समय तालिका सहित )

मंसिर ९, काठमाडौँ-भोली देखि काठमाडोँमा सुरु हुने १८ औं सार्क शिखर सम्मेलनमा सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरु आज पालै पाले गरी नेपाल आइपुग्ने भएका छन् । उनीहरु अपरान्हसम्म आइपुग्ने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले जानकारी दिए । ढकालको अनुसार उनीहरुको सुरक्षाको लागी भिन्नदा भिन्दै व्यबस्था गरिएको छ । भोली राष्ट्रिय सभागृहमा उद्घाटन भएर दुई दिनसम्म चल्ने सार्क शिखर सम्मेलनमा सहभागी हुन उनीहरुमध्ये केही विशेष विमानबाट र केही नियमित उडानको विमानबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रनेछन् ।  सार्कमा सहभागी हुन आउने क्रममा सबैभन्दा बढी सुरक्षा व्यवस्था सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदैछन् । सार्क सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं ओर्लने राष्ट्र तथा सरकार प्रमुखहरुको समय तालिका यस्तो छ ।

श्रीलंकन राष्ट्रपति महिन्दा राजापाक्ष बिहान साडे ९ बजे आइपुग्नेछन् । उनी श्रीलंकाबाट विशेष विमानमा चढेर काठमाडौं ओर्लदैँछन् । बौद्द धर्मावलम्बी समेत रहेका राजापाक्ष बौद्धको जन्मस्थल लुम्बिनी भ्रमण भ्याउने गरी बिहानै काठमाडौं ओर्लन लागेका हुन् । त्यस्तै अफगानिस्तानका राष्ट्रपति असरफ घानी अफगानिस्तानबाट विशेष विमान चढेर बिहान १० बजेर ४५ मिनेटमा काठमाडौं ओर्लने कार्यक्रम छ । भुटानका प्रधानमन्त्री थेस्रिङ तोब्गे  बिहान ११ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने छन् । सार्क राष्ट्रकै सानो सदस्य राष्ट्र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन काठमाडौं उत्रने तेस्रो राष्ट्र प्रमुख हुनेछन् । उनी सिल्क एयरको नियमित उडानबाट मध्यान्ह १२ बजेर ५ मिनेटमा उनी काठमाडौं ओर्लने कार्यक्रम छ ।

सार्क शिखर सम्मेलनकै प्रमुख आर्कषण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो साढे दुई बजे काठमाडौं ओर्लने कार्यक्रम छ । कडा सुरक्षाबीच उनी काठमाडौं आउँदैछन् । त्यस्तै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पाकिस्तानी एयरलाइन्सको विशेष विमानमा चढेर दिउँसो साढे तीन बजे काठमाडौं आउँदैछन् ।  पाकिस्तानी प्रधानमन्त्री सरिफ चढ्ने विशेष कार पनि त्यहीँबाट सोमबारै ल्याइसकिएको छ । सार्क शिखर सम्मेलनमा भाग लिन आउने सदस्य मुलुककी अन्तिम प्रमुख बंगलादेशकी प्रधानमन्त्री शेख हसिना हुने छिन् । उनी बंगलादेश विमानमा चढेर मंगलबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौं आउनेछिन् ।