पथरी गोल्डकपमा आज प्रहरी र सिक्किमको सुनान्चु क्लब भिड्ने

मोरङ– पथरी अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बल र भारत सिक्किमको सुनान्चु क्लबबीच खेल हुनेछ। बुधबार हुने सेमिफाइनलमा पुलिसले एन्फाकप विजेता झापा–११ को सामना गर्नेछ। पथरी स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा सोमबार पुलिस क्लब १–० ले विजयी भएको हो।

पुलिसका लागि जुमानु राईले गोल गरे। सोमबार भएको खेलमा पुलिसले पुरै समय खेलमा दबाब राखेको थियो। खेलको १० औं मिनेटमा पुलिसका दिपेन श्रेष्ठले दिएको पासमा भोला सिलवालले गरेको प्रहारलाई गोलरक्षक दिपेश यादवले बचाउ गरेका थिए। १९ मिनेटमा पुलिसका भरत साहले गोलको राम्रो अवसर चुकाएका थिए।

दिपेन श्रेष्ठले २० औं मिनेटमा डि बक्सभित्र दिएको पासमा जुमानु राईले गरेको गोल मद्दतले पुलिसले अन्तिम चारको यात्रा पक्का गर्‍यो। त्यस्तै जुमानुले खेलको २५, ४४ र ७१ औं मिनेटमा गोल गर्ने राम्रा अवसर गुमाएका थिए। ५१ औं मिनेटमा सरस्वतीका जनक कार्कीले ३० यार्डबाट हानेको फ्रिकिक पुलिसका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए।