चन्दसित स्पष्टिकरण लिने निर्णय फिर्ता

मंसिर ७, काठमाडौ-नेकपा- माओवादीको संस्थापन पक्ष स्पष्टीकरण लिने निर्णय फिर्ता लिन सहमत भएपछि सचिव नेत्रविक्रम चन्द समूह आइतबारदेखि हुने पार्टीर्को पूर्ण कमिटी बैठकमा सहभागी हुने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।  शनिबार साँझ पार्टी कार्यालय बुद्धनगरमा अध्यक्ष मोहन बैद्य, महासचिव रामबहादुर थापा, सचिव चन्दबीच भएको वार्तामा स्पष्टीकरण लिने निर्णय फिर्ता लिने सहमति भएको हो ।

चन्द पक्षीय पोलिटब्युरो सदस्य खडगबहादुर विश्वकर्माले स्पष्टीकरण फिर्ता लिने सहमति भएको उल्लेख गर्दै आइतबारदेखि हुने पूर्ण कमिटि बैठकमा आफूहरू सहभागि हुने जानकारी दिए । स्पष्टिकरण र कारवाही फिर्ता लिने सहमति भयो, हामी बैठकमा सहभागि हुन्छौु उनले भने । पोलिटव्युरो, केन्द्रीय समिति बैठक बहिस्कार गरी चन्द पक्षले केही दिनअघि कपिलबस्तुको शिवनगर जंगलमा छुट्टै भेला बोलाएपछि संस्थापन पक्षले स्पष्टीकरण लिने निर्णय गरेको थियो ।

स्पष्टीकरण लिने निर्णयको विरोधमा चन्द समूहले शनिबारदेखि हुने भनिएको पूर्ण बैठक वहिस्कार गरेको हो । केही मध्यमार्गी केन्द्रीय सदस्यले चन्द समूहलाई समेत समेटेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष बैद्य र महासचिव रामबहादुर थापालाई दवाव दिएपछि शनिबारको बैठक स्थगित भएको थियो । त्यसको नेतृत्व पोलिव्युरो सदस्य धर्मेन्द्र वास्तोला गरेका थिए ।