चन्द पक्ष सहभागी नभएपछि माओवादी बैठक स्थगीत

मंसिर ६, काठमाडौँ-आजबाट सुरु हुने भनिएको नेकपा माओबादीको बैठक असन्तुष्ट पक्षको अनुपस्थितिका कारण स्थगीत भएको छ । सचिव नेत्रविक्रम चन्द पक्षधरका नेताहरु सहभागी नभएपछि आजको बैठक स्थगीत भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । स्रोतका अनुसार  बैठक  करिब तीन घण्टापछि केही बेर बसेर स्थगित गरिएको थियो । बैठक आइतबार बस्ने प्रवक्ता भुषालले बताइन् । पार्टी भित्र देखिएको विवाद समाधानको बारेमा छलफल गर्न संस्थापन र असन्तुष्ट समूहबीच गोप्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि यस बारे केन्द्रीय समितिको पूर्ण बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको थियो । तर पूर्ण बैठकमा आफूहरुको बहुमत नपुग्ने भएपछि चन्द पक्ष आउन नचाहेको बताइएको छ । केही नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णयका लागि संस्थापनले आत्मआलोचना गर्नु पर्ने शर्तका साथ बैठकमा सहभागी हुने बारेमा असन्तुष्ट समूहले आन्तरिक छलफल गरिरहेको स्रोतले जनाएको छ ।