कविता : अरुण बराल

बाघले घाँस खाँदैन
चिडियाखानामा थुने
कैदी जीवन बिताउँछ
गोली प्रहार गरे
घाइते जीवन बिताउँछ
तर, बाघले घाँस खाँदैन ।

भोकाउँदै हिँड्छ
तिर्खाउँदै हिँड्छ
राताराता आँखा
फिर्काउँदै हिँड्छ
तर, बाघले घाँस खाँदैन ।

स्यालले जस्तो कायर सपना देख्दैन
गोरुले जस्तो डाँक्ला टोक्दैन
फ्याउरोजस्तो रुँदैन पनि
हुन त हुँदैन शिकारको धनी
तर, बाघले घाँस खाँदैन

आफ्नो अस्थित्व बेचेर
नून साटेर खाँदैन
आफैंलाई घाउ बनाई
खून चाटेर खाँदैन
आत्मसमर्पणलाई तुच्छ ठान्छ
बरु वलिदानलाई महान मान्छ
तर, बाघले घाँस खाँदैन ।

महान सपनाको कामना गर्छ
बरु मृत्युको सामना गर्छ
हजारौं कठिनाइ सहन्छ
बरु गर्जी रहन्छ
तर, बाघले घाँस खाँदैन।