१० वर्षमा ५६ हजारलाई क्यान्सर

चितवन- नेपालमा १० वर्षमा ५६ हजार १३ जनाले क्यान्सर उपचार गराएका छन्। यो संख्या सन् २००३ देखि २०१२ सम्म देशका मुख्य सातवटा अस्पतालमा उपचार गराएका बिरामीको हो। ‘सन् २०१३ को संख्या सार्वजनिक गर्दा थप पाँचवटा अस्पतालमा क्यान्सर उपचार गराएका बिरामीको तथ्यांक पनि राखिनेछ,’ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोर प्रधानांगले जानकारी दिए। १० वर्षमा उपचार गराउन आउनेमा २९ हजार ९ सय ५ महिला र २६ हजार १ सय ८ पुरुष छन्।
‘तथ्यांकले पुरुषभन्दा महिला धेरै आएको देखाउँछ,’ प्रधानांगले भने। महिलामध्ये २१ प्रतिशतलाई पाठेघर मुखको क्यान्सर हुने गरेको छ। त्यस्तै क्यान्सर लागेका पुरुष बिरामीमध्ये २० प्रतिशतलाई फोक्सोको क्यान्सर हुने प्रधानांगले जानकारी दिए। महिला पुरुष दुवैलाई जोड्दा फोक्सोको क्यान्सर हुनेको संख्या पहिलो नम्बरमा छ।
उनका अनुसार विश्वमा पुरुषमा फोक्सो, आमाशय, पोस्टेट, कोलन र कलेजोको क्यान्सर तथा महिलामा स्तन र पाठेघर मुखको क्यान्सर मुख्य हुन्। विकसित र विकासशील देशमा फरक–फरक प्रकारको क्यान्सर मुख्यरुपमा देखा परेको छ। विकसित देशमा पाठेघरको क्यान्सर हुने महिला कम छन् भने विकाशसील देशमा मुख्य क्यान्सर यही हुने गरेको छ।
नेपालमा बर्सेनि ३० हजार क्यान्सर रोगी थपिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमान छ। तर, धेरै अस्पतालसम्म आउन सकेका छैनन्। अस्पतालसम्म के–कति आए भनेर तथ्यांक राख्न थालिएको सन् १९९७ बाट हो। सन् २००३ बाट भने व्यवस्थित रुपमा तथ्यांक राख्न थालेको प्रधानांगले जानकारी दिए।
सन् १९९७ मा काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर अपताल र कान्ति बाल अस्पतालको तथ्यांक राखिन्थ्यो। सन् २००३ देखि यी अस्पतालसहित बिपी कोइरला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराको मणिपाल शिक्षण अस्पतालमा आउने क्यान्सर बिरामीको तथ्यांक राख्न थालिएको हो।
सन् २०१३ का लागि यी पुराना सातसहित निजामती, आर्मी, प्रसूति, पाटन र बाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालको पनि तथ्यांक समेटिनेछ। १२ वटै असपतालमा कार्यरत मेडिकल रेकर्डर र सहयोगीका लागि बिहीबारबाट भरतपुरमा दुईदिने तालिम सुरु भएको छ।

– See more at: http://nagariknews.com/health/story/28133.html#sthash.nAqe2AGo.dpuf