मधुमेह बिरामी, गुम्ला आँखाको ज्योति

मंसिर ६, काठमाडौँ -नेपालमा मधुमेहका बिरामीको संख्यामा वृद्धि भएसँगै यसका कारण आँखाको ज्योति गुमाउनेको संख्या पनि बढिरहेको छ। मधुमेहले आँखामा असर गर्छ भन्ने आम मानिसलाई समयमै जानकारी नहुँदा धेरैले आँखाको ज्योति गुमाउनु परिरहेको चिकित्सकहरू बताउँछन्।
विश्वभरमा करिब पाँच प्रतिशत अन्धोपन मधुमेहका कारणले हुने गर्छ। तर, नेपालमा भने त्योभन्दा झन्डै तीनगुणा बढी अन्धोपनको कारण मधुमेह देखिएको छ। तिलगंगा आँखा प्रतिष्ठानकी डा. रभा थापाका अनुसार नेपालमा १३ प्रतिशत अन्धोपनको कारण मधुमेह हो।
‘अन्य देशको तुलनामा नेपालमा यति धेरै समस्या देखिनुका कारण मधुमेह भएकाले समयमै आँखाको परीक्षण नगराउनु हो,’ उनले भनिन्, ‘समयमै आँखाको परीक्षण गराई मधुमेहबाट हुने अन्धोपनबाट बच्न सकिने भए पनि अधिकांश बिरामी आँखामा असर परिसकेपछि मात्र अस्पतालमा आउने गरेका छन्।’ उनले मधुमेहको कारण हुने अन्धोपनबाट रोक्न देशव्यापी चेतना फैलाउन आवश्यक रहेको बताइन्।
अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. गोविन्द पौडेलका अनुसार मधुमेहले शरीरका अन्य अंगहरू मिर्गौला, मुटु, नशामा जस्तै आँखाको दृष्टि पर्दा (रेटिना) मा समेत गम्भीर असर पार्छ। मधुमेहले रेटिनाको रक्त नशाहरूमा असर पुर्याञई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत बनाउने गर्छ। मधुमेहले आँखामा असर पार्ने रोगलाई चिकित्सकीय भाषामा ‘डाइबेटिक रेटिनोपेथी’ भनेर चिनिने डा. पौडेलले बताए।
रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो। जसलाई नांगो आँखाले देख्न सकिँदैन। मधुमेहले त्यही रेटिनामा रक्तश्राव गराउने, चिल्लो पदार्थ जम्मा हुने र सुजन गराउने चिकित्सकहरू बताउँछन्। जसको उपचार समयमै गर्न सकिएन भने आँखाको ज्योति सधैंका लागि गुम्न सक्छ।
‘मधुमेहको असरले सुरुमा रेटिनामा रक्तश्राव हुने, दृष्टि केन्द्रमा सुजन हुन्छ। यस्तै पर्दा खुम्चिन गई दृष्टि कमजोर हुँदै जान्छ,’ डा. थापाले भनिन्, ‘त्यसकारण समयमा नै दृष्टि जोखिममा रहेका बिरामीको उपचार गरेमा दृष्टि पूर्ण रूपमा बचाउन सकिन्छ।’ डा. थापाका अनुसार मधुमेहले दृष्टि गुमाउनुका साथै आँखामा पटक–पटक आनो आउने, आँखा सुख्खा हुने, छिटोछिटो चस्माको पावर परिवर्तन हुने, मोतिविन्दु छिटो देखा पर्ने, जलविन्दुको सम्भावना बढी हुने समस्या पनि गराउँछ।
तिलगंगामा मधुमेहका कारण आँखा देखाउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बिरामी गम्भीर समस्या देखिएपछि मात्र आउने गरेको अस्पतालका डाइबेटिक रेटिनोपेथी कार्यक्रम अधिकृत बलबहादुर क्षेत्रीले बताए। ‘मधुमेह भएको थाहा पाउनेबित्तिकै नियमित आँखा परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर अस्पतालमा मधुमेह भएको १० वर्ष भइसक्दा एकपटक पनि आँखा परीक्षण नगरेका बिरामी आउने गरेका छन्।’ उनका अनुसार मधुमेह भएपछि रोगको समयावधि बढ्दै जाने र आँखामा असर पर्ने भएकाले हरेक वर्ष आँखाको नियमित परीक्षण आवश्यक छ।
उनका अनुसार मधुमेह भएका बिरामीमा सुरुवाती अवस्थामा आँखाको कुनै पनि असर देखिँदैन। ‘सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षण देखिँदैन,’ उनले भने, ‘त्यही भएर मानिसहरू आँखा स्वस्थ छ भन्ने भ्रममा परेर परीक्षणका लागि जाँदैनन्। तर जब दृष्टि धमिलो हुन थाल्छ त्यति बेला रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ। जसबाट दृष्टि बचाउन धेरै गाह्रो हुन्छ।’
अस्पतालमा डाइबेटिक रेटिनोपेथीका बिरामीको संख्या आउने क्रम बढ्दै जान थालेपछि अस्पतालले यसै वर्षदेखि विश्व मधुमेह दिवसका अवसरमा डाइबेटिक रेटिनोपेथी दिवससमेत मनाउन थालेको छ। ‘सही ज्ञानको अभावका कारण धेरै बिरामीले दृष्टि गुमाउनु परिरहेकाले चेतनामूलक कार्यक्रमलाई अगाडि बढाउन लागिएको हो,’ क्षेत्रीले भने।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा ३८ दशमलव ५ प्रतिशत मधुमेहका बिरामीको आँखामा असर परेको देखिएको छ। मधुमेह पहिलो र दोस्रो गरी दुई प्रकारको हुन्छ। मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब ७० प्रतिशत बिरामीको आखाँको दृष्टिपर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ। नेपालमा त झन् योभन्दा छिट्टै मानिसहरूमा आँखाको ज्योति गुम्ने समस्या रहेको पाइएको छ। त्यसकारण युवा अवस्थादेखि नै मुधुमेह हुन नदिनु सबैभन्दा उत्तम उपाए भएको क्षेत्रीले बताए।

डाइबेटिक रेटिनोपेथीका कारण
सानै उमेरमा देखा पर्ने मधुमेह
रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु
उच्च रक्तचाप
रगतमा चिल्लो पदार्थको बढी हुनु
मिर्गौलाको समस्या
धूमपान सेवन
मोटोपन
रक्तअल्पता र गर्भावस्था
शारीरिक निष्त्रि्कयता

मधुमेहले हुने अन्धोपनबाट बच्ने उपाय
रगतमा भएको सुगर नियन्त्रणमा राख्ने
परिवारमा मधुमेह हुने व्यक्तहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराउने
मधुमेह भएको थाहा पाएलगत्तै आँखा जाँच गराउने
प्रत्येक वर्ष कम्तीमा एकपटक आँखाको रेटिना परीक्षण गराउने
उच्च रक्तचाप, कालेस्टेरोल नियन्त्रणमा राख्ने
धूमपान नगर्ने
गर्भावस्थामा विशेष ख्याल राख्ने
नियमित व्यायाम गर्ने
बढी चिल्लो, गुलियो, नुनिलो नखाने
रोग लागिसकेकाले आँखा अस्पतालमा गएर उपचार गराउने

मधुमेह के हो?
रगतमा चिनीको मात्र आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग भनिन्छ। मधुमेह एक दीर्घरोग हो जसले शरीरका आँखा, मुटु, स्नायु, मिर्गौला, खुट्टामा असर गर्छ। आम रूपमा मधुमेहलाई चिनीरोग भनेर चिन्ने गरीन्छ। शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ। तर, शरीरमा इन्सुलिन उत्पादन नहुने वा उत्पादिन इन्सुलिनले काम नगर्दा रगतमा चिनीको मात्रा बढ्ने गर्दछ। यसका साथै इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने हुन्छ।
मधुमेहका लक्ष्ण
अत्याधिक भोक लाग्नु
पिसाब बढी लाग्नु
हातखुट्टा झमझमाउनु
तिर्खा बढी लाग्नु
मुख सुक्नु
शरीरमा रगत कम हुनु
दुब्लाउँदै जानु
छाला धेरै सुख्खा हुनु
हातखुट्टाका औंला बाउँडिनु,
थकाइ बढी लाग्नु
साभार नागरिक शुक्रबार