नेपालले हङकङसँग क्रिकेट खेल्ने

मंसिर ६, काठमाडौँ-श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले हङकङसँग एउटा ट्वान्टी २० अन्तर्राष्ट्रिय र एउटा ५० ओभरको खेल खेल्ने भएको छ।हिजो हुने भनिएको ट्वान्टी २० अन्तर्राष्ट्रिय म्याच पनि स्थगित भएपछि नयाँ खेल तालिका बनाइएको छ। एसियाली क्रिकेट परिषद् एसिसीले बनाएको यो खेल तालिकालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले स्वीकृति दिन भने बाँकी छ। नयाँ तालिकाअनुसार नेपालले कोलम्बोको आर्मी मैदानमा आइतबार ५० ओभरको खेल र सोमबार पी। सारा स्टेडियममा हङकङसँग ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

बुधबार, बिहीबार र शुक्रबारसमेतको ट्वान्टी २० खेल वर्षाले हुन नदिएपछि एसिसीले नयाँ खेल तालिका प्रस्ताव गरेको हो। निर्धारित तालिकाअनुसार नेपालले हङकङसँग शनिबार दम्बुलामा ट्वान्टी २० अन्तर्राष्ट्रिय र कुरुनेगालामा ५० ओभरको खेल खेल्ने कार्यक्रम थियो। तर दम्बुलामा नियमित वर्षा भइरहेको र थप वर्षा हुने पूर्वानुमानले गर्दा खेल कोलम्बो सारिएको हो। नेपाली टोली भोलि कोलम्बो प्रस्थान गर्नेछ। कात्तिक २० मा सरकारले बनाएको नेपाल क्रिकेट संघ तदर्थ समितिका अध्यक्ष विनयराज पाण्डेले शुक्रबार दम्बुलामा नेपाली टोलीसँग भेटेको स्रोतले जनाएको छ।