ओल्ड ट्राफोर्डमा रोनाल्डो र मेसी रौनक

 मंसिर ५, काठमाडौँ  -क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुवैले मैदान छाडेको धेरै बेरपछि राफेल गुइरेइरोले इन्जुरी समयमा गरेको हेड गोलमा पोर्चुगलले मंगलबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनामाथि १–० को विजयी नतिजा निकालेको छ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको मध्यान्तरमै विश्व फुटबलका दुई सर्वोत्कृष्ट खेलाडीलाई परिवर्तन गरिएको थियो । रोनाल्डोले ६ सिजन म्यानचेस्टर युनाइटेडमा रहँदा बिताएको ओल्ड ट्राफोर्डमा कमै मात्र प्रभाव देखाउन सके ।

मेसीले ११औं मिनेटमा प्रहार गरेको बल पोस्टमा लाग्दा अर्जेन्टिना अग्रता लिनबाट चुक्यो । बार्सिलोनाका सुपर स्टारले खेलअघि अर्जेन्टिनी खेलकुद दैनिक ओलेलाई अन्तर्वार्ता दिने क्रममा आफूले बार्सिलोनाबाटै करिअर नटुंग्याउने बताएका थिए ।

विश्व विजेता जर्मनीले पनि अन्तिम समयमा टोनी क्रसले गरेको गोलमा स्पेनमाथि अवे विजय पायो । पछिल्लो दुई विश्वकपका विजेताबीचको खेलमा दुवै टोली मुख्य खेलाडीबिना मैदान उत्रिँदा क्रसले समय सकिन एक मिनेट बाँकीमा विजयी गोल गरे ।

ब्राजिलले घरेलु मैदानमा सम्पन्न विश्वकपमा निराशाजनक पराजय भोगेयता लगातार छैटौं जित पायो । तर अस्ट्रियामाथि जित दर्ता गराउन ब्राजिलले ८३औं मिनेटसम्म कुर्नुप¥यो । राष्ट्रिय टोलीका नवप्रवेशी रोबर्टो फिर्मिन्होले २५ यार्डबाट गरेको कडा प्रहार गोलमा परिणत भएपछि ब्राजिलले सात मिनेट बाँकीमा २–१ को जित पक्का ग¥यो ।

विश्व फुटबलकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ग्लास्गोमा नवीकरण गरिँदा कप्तान वाइन रुनीको दुई गोलप्रेरित इङ्ल्यान्डले स्कटल्यान्डमाथि ३–१ को जित दर्ता गरायो । १८९२ मा दुई देशबीचको खेल अन्तर्राष्ट्रिय फुटबलमा पहिलो खेल मानिन्छ ।