बालाचतुर्दशी पर्व मनाइँदै

मंसिर ५, काठमाडौँ-आज बाला चतुर्दशी पर्व  बिहानैदेखि शतबीज छरेर धुमधामका साथ मनाइँदै छ । यो पर्वमा पितृहरूको आत्माले चीरशान्ति पाओस् भन्ने कामना गर्दै बिभिन्न शिवालयहरूमा दिवंगत पितृका नाममा धान, गहुँ, जौ, मुगी, मास, केरा, स्याउ, सुन्तला, सखरखण्ड, पिँडालु, काँक्रा, मूला आदि एक सय किसिमका अन्न तथा फलफूल मिसाएर शतबीजका रूपमा छर्ने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ।

बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राराम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने पञ्चाङ्ग निर्णयक समितिले जनाएको  छ । राजधानी काठमाडौंको पशुपति क्षेत्रस्थित कैलाशडाँडा, श्लेषमान्तक वन, गुह्येश्वरी, गौरीघाट लगायतका क्षेत्रहरूमा रातभरी बत्ती बालेर भक्तजनहरू जाग्राम बसेका छन । यहाँ रातभरीनै भजन कीर्तन समेत गर्ने गरिन्छ । आज चतुर्दशीका दिन सबेरै बागमती नदीमा नुहाएर शतबीज छर्नाले पितृहरूले मुक्ति पाउने धार्मिक विश्वास रहिआएको छ।

धार्मिक ग्रन्थहरूमा जनाइए अनुसार भगवान शिव तथा पार्वतीको प्रणयलीला समेत यस पर्वमा जोडिएको पाइन्छ । जसमा बताइए अनुसार उक्त प्रणयलीलाका क्रममा भगवान् शिवशंकरले मृगको रूप लिएर श्लेषमान्तक वन र आसपासका क्षेत्रमा विचरण गरेको कुरा उल्लेख गरिएको छ । समितीका अनुसार मङ्सिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन गर्छन्।