पञ्चेश्वर डिपिआर ‘६ महिनाभित्र’

 मंसिर ५, काठमाडौँ -पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन’ (डिपिआर) ६ महिनाभित्र पूरा गर्न नेपाल र भारत सहमत भएका छन्। भारतको नयाँदिल्लीमा मंगलबार र बुधबार बसेको ‘पञ्चेश्वर विकास प्राधिकरण’ सञ्चालक समिति बैठकमा निश्चित समयभित्र डिपिआर पूरा गरेर निर्माण प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका हुन्।

‘भारतको वापकोस लिमिटेडलाई डिपिआर टुंग्याउन जिम्मा दिने निर्णय भएको छ,’ बैठकपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले टेलिफोनमा नागरिकसँग भने ।

काठमाडौंमा असोज ७ गते बसेको विकास प्राधिकरणको पहिलो बैठकले वापकोसलाई दुवै देशले बनाएको डिपिआर अद्यावधिक गर्ने जिम्मा दिइएको थियो । ‘डिपिआर पूरा गर्न लाग्ने करिब ५० करोड रुपैयाँ भारतले नै बेहोर्ने सहमति भएको छ,’ काफ्लेले भने, ‘यो काम सकिएपछि आयोजना निर्माणका लागि लागत र लाभ बाँडफाँटको टुंगो लाग्नेछ ।’

पञ्चेश्वर विकास प्राधिकरणका लागि प्रमुख कार्यकारी र अतिरिक्त प्रमुख कार्यकारी छिटो नियुक्त गरेर काम सुरु गर्नुपर्नेमा दुवै पक्ष सहमत भएको उनले जानकारी दिए । बैठकमा नेपालतर्फबाट ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीको नेतृत्वमा १० र भारततर्फबाट जलस्रोत सचिव अनुजकुमार विश्नोईको नेतृत्वमा १२ सदस्यीय टोली सहभागी थियो ।

विकास प्राधिकरणको दिल्लीमा भएको यो दोस्रो बैठक हो । पहिलो बैठकले पहिलो तीन वर्ष प्राधिकरणको प्रमुख कार्यकारी नेपाल र अतिरिक्त प्रमुख कार्यकारी भारतको हुने निर्णय गरेको थियो । त्यसैअनुसार उक्त पदमा छिटो कर्मचारी नियुक्त गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको काफ्लेले बताए ।

पहिलो बैठकले प्राधिकरणको विधानसमेत तयार गरेको थियो । विधानअनुसार नेपाल र भारतका तीन÷तीन जना कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको थियो । आवश्यक कर्मचारी नियुक्त गरेपछि आयोजनाको लागतबारे छुट्टै अध्ययन गर्ने निर्णय पनि भएको छ ।

प्राधिकरण कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा राख्ने सहमति भइसकेको छ । कार्यालय व्यवस्था नहुँदासम्म काठमाडौंमै सम्पर्क कार्यालय राख्न दुवै पक्ष सहमत छन् । काफ्लेका अनुसार तीन महिनापछि काठमाडौंमा हुने सञ्चालक समितिको तेस्रो बैठकले विकास प्राधिकरणका लागि आवश्यक कर्मचारी नियुक्त गर्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत साउन १८ मा नेपाल भ्रमणमा आउँदा आयोजना बनाउन तय गरिएको कार्यविधि (टिओआर) प्रधानमन्त्री सुशील कोइराला र उनले अनुमोदन गरिसकेका छन् । उक्त कार्यविधि दुई देशको सचिवस्तरीय तहमा सन् २००९ मै पारित भएको थियो तर दुवै सरकारबाट अनुमोदन हुन झन्डै पाँच वर्ष लाग्यो ।नागरिक दैनिकमा खबर छ ।