साउदी अरवका पूर्वराजदूत हमिद अन्सारी भ्रष्टाचार मुद्दामा

मंसिर ५, काठमाडौ-मृतकका परिवारलाई क्षतिपूर्तीबापत दिएको रकम आफ्नै खातामा राखेको भेटिएपछि साउदी अरवका पूर्वराजदूत हमिद अन्सारी भ्रष्टाचार मुद्दामा मुछिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । मृतकका परिवारले पाउने रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्सारीविरुद्ध ३ लाख ९६ हजार रुपैंया भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

रोजगारीका लागि साउदी अरब पुगेका भाईको मृत्युपछि बाग्लुङका होमबहादुर पुनले रोजगारदाता कम्पनीबाट ४७ हजार रियाद पाउनुपर्ने थियो । पहिलो किस्तास्वरुप २७ हजार रुपैयाँ पाएका पुनले अर्को किस्ताको २० हजार रियाद नपाएपछि अख्तियारमा उजुरी दिएका थिए । छानबिन क्रममा मृतकका परिवारको रकम राजदूत आफैले निकालेको भेटिएको हो ।

सन् २०१० अगष्ट ११ मा २० हजार रियादको चेक पाएका राजदूतले त्यसको १५ दिनपछि आफैले निकालेको अख्तियारद्वारा विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा उल्लेख छ । अन्सारी एमाले कोटाबाट २०६४ माघदेखि २०६७ माघसम्म साउदी अरबको राजदूत थिए ।