नेपाल आर्थिक समृद्धिको बाटोमा लाग्यो : डा महत

मंसिर ४, काठमाडौँ-पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको  ‘राष्ट्रिय औद्योगिक व्यापार मेलामा बोल्दै अर्थमन्त्री महतले आर्थिक समृद्धि र सुधारको बाटोमा देश अगाडि बढिरहेको बताएका छन् । नेपालमा आर्थिक गतिबिधि बढेसँगै पोखरालाई आर्थिक केन्द्रका रुपमा विकास गरिनुपर्ने उनको भनाइ छ । पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रक्रिया सुरु भएको बताउँदै उनले अब यस क्षेत्रको समग्र विकासमा सरकारको ध्यान जाने बताए ।

लामो समयसम्म राजनीतिक अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएको भन्दै अब विकास अभियानमा सबै लाग्नुपर्ने अर्थमन्त्री महतले बताए । अर्थमन्त्री महतले पश्चिमाञ्चल क्षेत्रमा विकास निर्माणका ठुला आयोजना बन्ने बताएका छन् । क्षेत्रीयस्तरका अन्तर्राष्ट्रिय विमानस्थल, १ सय ४० मेगावाट क्षमताको तनहुँ हाइड्रो, लम्जुङमा ६ सय मेगावाट क्षमताको अपर मस्र्याङदी आयोजना, बेनी–जोमसोम सडकलाई कालोपत्रे गर्ने योजना अगाडि बढिरहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा आयोजना हुने मेला तथा महोत्सवले आर्थिक गतिबिधिलाई अगाडि बढाउन सहयोग पुर्याउने बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले जतिसक्दो छिटो पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्ने बताए ।