संवाद समितिको बैठक अवरुद्ध गरेकोमा सत्तासाझेदार आक्रोशित

मंसिर ४, काठमाडौँ-संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको बैठक अवरुद्ध गरी मनपरी गरेको भन्दै नेपाली काँगे्रस र नेकपा एमालेका नेताले आक्रोश पोखेका छन् ।     नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ‘संविधान निर्माणमा सञ्चारकर्मीको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा एमालेका नेता माधवकुमार नेपालले संवाद समितिको बैठक अवरुद्ध गरी डा भट्टराईले गैरप्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाए ।     नेता नेपालले एकीकृत नेकपा (माओवादी) को भनाइअनुसार नै काँग्रेस एमालेले लामो छलफलपछि पनि सहमति हुन नसकेपछि सहमतिका लागि संवाद समितिमा प्रस्ताव पेस गरिएको बताए । एमाओवादीले दोस्रो संविधानसभाले दिएको जनमतको अवमूल्यन गरेको आरोप लगाउँदै नेता नेपालले काँग्रेस र एमालेले पेस गरेको प्रस्ताव अन्तिम नभई छलफलका लागि मात्र भएकाले नआत्तिई संवाद समितिको बैठक सञ्चालन गर्न आग्रह गरे ।