सुर्खेतमा व्यावसायिक प्याराग्लाइडिङ

मंसिर ३, सुर्खेत- सुर्खेतमा पहिलो पटक व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गरिने भएको छ। वेलकम प्याराग्लाइडिङ प्रालिले आउँदो मंसिर १२ गतेदेखि प्याराग्लाइडिङ सञ्चालन गर्न लागेको हो। प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार गढी गाविसको वडा नं. ८ स्थित बयलकाँडाबाट प्याराग्लाइडिङ उडान हुनेछ।

बयलकाँडाबाट उडान गरी वीरेन्द्रनगर-२ त्रिपुरेश्वरमा अवतरण गरिने प्रालिका अध्यक्ष महेश सुवेदीले जानकारी दिए। उनका अनुसार हाल १२ वटा उडानका लागि अनुमति लिइएको छ।
सोलो ६ र टेन्डम ६ वटा उडान हुनेछन्। उडानका लागि प्रालिले नेपाल सरकार, संस्कति तथा पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायबाटसमेत अनुमति लिएर व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागेको अध्यक्ष सुवेदीले बताए।
जिल्लाको पर्यटन व्यवसायमा थप टेवा पुर्‍याउने उद्देश्यले प्याराग्लाइडिङ सञ्चालनमा ल्याइएको जनाइएको छ। नेपाली नागरिकहरूका लागि २० देखि ३० मिनेटका लागि पाँच हजार पाँच सय र विदेशी नागरिकका लागि आठ हजार पाँच सय शुल्क लाग्नेछ।
‘प्याराग्लाडिङ उडानका लागि सुरुआतमा पोखराबाट नै पाइलट आउनेछन्’, अध्यक्ष सुवेदीले भने, ‘हामी स्थानीय नागरिकहरूलाई नै सिकाएर यसलाई निरन्तरता दिने योजनामा छौं।’ प्याराग्लाइडिङमा उड्ने व्यक्तिले फोटो र भिडियोको शुल्कसमेत छुट्टै तिर्नुपर्ने छ।
कम्तीमा पनि तीन मिनेटको भिडियो र फोटोहरूका लागि नेपाली नागरिकले एक हजार पाँच सय र विदेशी नागरिकले एक हजार सात सय शुल्क तिर्नुपर्नेछ। ‘उड्ने स्थलसम्म लैजानका लागि प्रालिले आफैं व्यवस्था गर्नेछ,’ अध्यक्ष सुवेदीले थपे, ‘३० मिनेट भन्दा बढी आकाशमा नै उड्ने भएपछि एक घन्टाका लागि नेपाली नागरिकका लागि आठ हजार पाँच सय र विदेशी नागरिकले ११ हजार पाँच सय थप शुल्क लाग्नेछ।’ पश्चिम नेपालमा पोखरापछि पहिलो पटक सुर्खेतमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको हो।

दोलखामा पनि प्याराग्लाइडिङ 
 
चरिकोट : पर्यटकीय नगरी दोलखामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। क्षेत्रीय होटेल संघ दोलखाले चरिकोट आसपासको क्षेत्रमा परीक्षण उडान गरेको हो। परीक्षण सफल भएकाले अब मंसिर तेस्रो साता हुने दोलखा महोत्सव अवधिभर प्याराग्लाइडिङ सञ्चालन गरिने भएको छ।
प्याराग्लाइडिङबाट चरिकोट आसपासको क्षेत्र, गौरीशंकरलगायतका विभिन्न हिमाल, तामाकोसी नदी र बस्तीको आकर्षक दृश्यावलोकनसँगै मनोरञ्जन लिन सकिन्छ। क्षेत्रीय होटेल संघ दोलखाको पहलमा चरिकोटनजिकैको देउराली डाँडाबाट काठमाडौं प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ प्रालिले तीनवटा परीक्षण उडान गरेको थियो। अन्नपुर्णमा खबर छ ।