गृहमन्त्री वामदेवले प्रहरीलाई भने, ‘दस दिन नसुत ‘

मंसिर ३, भैरहवा -उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दस दिन नसुतेर भए पनि सुरक्षा प्रबन्ध र सतर्कतालाई कसिलो एवं कडा बनाउन निर्देशन दिएका छन्।
गृहमन्त्री गौतमले मंगलबार लुम्बिनी क्षेत्रको स्थलगत अवलोकन गरी यस क्षेत्रका सुरक्षा अधिकारीलाई सीमावर्ती नाका र लुम्बिनी क्षेत्रमा कडा सुरक्षा पहरेदारीको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। गौतमले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा सुरक्षामा कुनै पनि कमी तथा त्रुटि हुन नदिन विशेष निर्देशन दिएका छन्।
‘अब १० दिन तपाईंहरू नसुत्नुहोस्। सुरक्षामा कुनै कसर बाँकी नराखी सुरक्षाप्रबन्ध मिलाउनुहोस्। केही समस्या र अभाव भए सीधै मलाई सम्पर्क गर्नुहोस्। सरकारले त्यसको जिम्मा लिन्छ र व्यवस्था मिलाउँछ’, गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै एक सुरक्षा अधिकारीले अन्नपूर्णलाई भने।लुम्बिनी अञ्चल कार्यालयका प्रहरी प्रमुख, नेपाली सेना बुटवलका निमित्त बाहिनीपति तथा कपिलवस्तु र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरीउपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षकहरूलाई लुम्बिनीमा सामूहिक भेला गरी उक्त निर्देशन दिएका हुन्।गृहमन्त्रीले लुम्बिनी क्षेत्रमा मंसिर १३ गतेसम्म कुनै पनि संघसंस्थालाई ठूला र औपचारिक कार्यक्रम गर्न नदिन, पर्यटकलाई सम्मान गर्न, सुरक्षा चुनौतीमा संयम अपनाउन पनि निर्देशन दिए।
मोदीको भ्रमण अवधिमा लुम्बिनी गुरुयोजनाभित्र र बाहिरसमेत औपचारिक कार्यक्रम गर्नुपरेमा सुरक्षा समितिको सल्लाहबेगर नगर्न, अनुमति दिइसकेको भए व्यवस्थापन गर्न लुम्बिनी विकास कोषसँग उनले आग्रह गरे। लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले पूर्वनिर्धारित कार्यक्रम सार्ने विषयमा छलफल भइरहेको बताए। मोदीको सुरक्षा र सर्वसाधारणसँगको साक्षात्कारको व्यवस्थाका लागि लुम्बिनीमा दिनहुँ बैठक, भेला तथा सेमिनार भइरहेका छन्। कान्तिपुरमा  खबर छ ।उनको भ्रमणको चाँजोपाँजो मिलाउन भारतीय सुरक्षाकर्मीका साथै नेपाली सुरक्षा अधिकारीले तयारी थालेका छन्। मोदीको भ्रमणको तयारीका सिलसिलामा ५० भन्दा बढी भारतीय र नेपाली सुरक्षा अधिकारी लुम्बिनीमै रहेको सुरक्षा स्रोतले बतायो। भारतीय प्रधानमन्त्री मोदीभन्दा पहिले श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षे मंसिर ९ गते लुिम्बनी आउने कार्यक्रम छ।