मोदीलाई मुक्तिनाथमा स्वागत गर्न यस्तो छ तयारी

मंसिर ३,  म्याग्दी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुस्ताङमा नागरिक अभिनन्दन गरिने भएको छ। मोदीलाई मुक्तिनाथमा स्वागत गर्न भव्‍य तयारी छ।
यही मंसिर ९ र १० गते काठमाडौँमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने मोदी सम्मेलन पछि प्रसिद्ध धार्मिक स्थल मुक्ति नाथको दर्शन गर्न मुस्ताङ आउने कार्यक्रम छ।
मोदीको भ्रमणले मुस्ताङको पर्यटन प्रर्बद्धन र प्रचारमा थप टेवा मिल्ने भन्दै स्थानीयले नागरिक अभिनन्दन गर्न लागेका हुन्। अभिनन्दनलाई प्रभावकारी र व्यवस्थित बनाउन मुस्ताङका समाजसेवी चन्द्रमोहन गौचनको संयोजकत्वमा १७ सदस्यीय सर्वदलीय र सर्वपक्षीय तयारी समिति गठन गरिएको छ। समितिका सदस्यमा मुस्ताङमा क्रियाशिल पाँच राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा र नेकपा-माओबादीबाट एक/एक जना प्रतिनिधी राखिएको छ।
त्यस्तै, जिल्ला प्रशासन, जिल्ला विकास समिति, जिविसका पूर्व सभापति विष्णुराज हिराचन, भक्ति हिराचन, आनन्द शेरचन, नागरिक समाजका चन्द्रबहादुर हिराचन, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, मुक्तिनाथका हिराबहादुर ठकुरी (लामा), छिरिङदावा गुरुङ, आङगेल गुरुङ, झारकोट आमा समुहकी अध्यक्ष र मुक्तिनाथ मन्दिरका मूख्य झुमा सदस्य छन्। प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको संयोजनमा भएको भेलाले नागरिक अभिनन्दन सहित स्थानीय समस्याका बारेमा जानकारी गराउने निर्णय भएको हो।
तयारी समितिका संयोजक गौचनले मोदीको भ्रमणको समयमा कुनै माग नगर्ने तर समस्याका बारेमा जानकारी गराईने बताए। ‘कुटनीति रुपमै हामीले उहाँलाई प्रत्यक्ष रुपमा केहि माग गर्दैनौँ तर समस्या यस्तो भनेर भन्छौँ, उनले भने। मुस्ताङको कुन-कुन समस्या जानकारीको रुपमा राख्ने भन्ने विषयमा निर्णय गर्न समिति मातहत एक उपसमिति पनि बनाईएको छ। जसमा स्थानीय समाजसेवी चन्द्रबहादुर थकाली, विष्णुराज हिराचन, चन्द्र बहादुर गुरुङ र नोर्बु गुरुङ सदस्य छन्।